Hamro Patra
स्वास्थ्य र शिक्षाले भ्रष्टाचार बढायो – केन्द्रिय सदस्य महर 

टीकापुर, भदौ ७
टीकापुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्र्तगतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा रहेको नेविसंघले आज स्वागत, विदाई तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । 

नेविसंघ इकाई कमिटीले आयोजना गरेको कार्यक्रममा नव आगन्तुक विद्यार्थीलाई स्वागत र तेस्रो ब्याचका विद्यार्थीलाई विदाई गरिएको छ । विद्यार्थीको स्वागत र विदाईका क्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका छन । 

1-(1)-1724411087.jpg
 

Khadga Memorial And Janajagriti

इकाई सभापति सर्जन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिँह महर रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै महरले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने खालको शिक्षाको आवश्यकता रहेको बताए । उनले नेपालको विद्यमान शिक्षाले अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसक्ने बताए । 

उनले २०४६ सालको परिवर्तन पछि सुधारोन्मुख अवस्थामा गएको नेपालको शैक्षिक अवस्था २०६२÷०६३ को परिवर्तन पश्चात झन बिग्रिएको बताए । ‘२०४६ पछि शिक्षाको क्षेत्रमा प्रगति भैरहेको थियो’ उनले भने–‘२०६२÷०६३ को परिवर्तन पछि बिग्रिदै गएको छ ।’

उनले संविधानमा निशुल्क ग्यारेन्टी गरिएको शिक्षा र स्वास्थ्य भ्रष्टाचारको जननी बन्दै गैरहेको बताए । उनले राम्रो शिक्षा र उपचार गर्न नसक्दा कतिपय मान्छे भ्रष्टाचार गर्न प्रेरित भैरहेको दावी गरे ।

‘छोराछोरी बिरामी हुन्छन । उनीहरुलाई राम्रो शिक्षा दिन खोज्छन । स्वास्थ्य र शिक्षा दुवै महंगो छ । अभिभावकसँग त्यो अनुसारको पैसा हुँदैन’ उनले भने–‘अनि अवसर पायो भने पैसा कमाउने तिर लाग्छन ।’

उनले मापदण्ड बनाएर निशुल्क स्वास्थ्य र शिक्षालाई कार्यान्वयनमा लैजान सके भ्रष्टाचार कम हुने बताए । 

1-(2)-1724411115.jpg
 

उनले सरकारको असहयोगका कारण किसान स्वावलम्बी र आत्मनिर्भर हुन नसकेको बताए । उनले किसानलाई सहयोग गर्ने कुरामा सरकारले उदासिनता देखाएको आरोप लगाए । 

‘छिमेकी मुलुक चीन र भारतले किसानलाई ठूलो सहुलियत दिने गरेको छ’ उनले भने–‘हाम्रो सरकारले दिँदैन किसान उनीहरुको उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।’

उनले कृषि विषय अध्ययन गरेका विद्यार्थीहरुलाई विदेश जाने मानसिकता त्यागेर कृषि क्षेत्रको विकासमा जुट्न आग्रह गरे । उनले युवापुस्ताले मात्रै कृषि क्षेत्रलाई परिवर्तन गर्न सक्ने भन्दै दक्ष जनशक्ति विदेशीनु मुलुकका लागि दुर्भाग्य भएको बताए । 

सोही कार्यक्रममा विशिष्ट अतिथिहरु नेविसंघका पूर्व उपाध्यक्ष पुष्पकुमार शाही, नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाह र काँग्रेस महाधिवेशन प्रतिनिधि रामबहादुर भण्डारीले बोलेका थिए । 

त्यस्तै प्राध्यापक मिलन घिमिरे, नेविसंघका केन्द्रिय सदस्यद्वय आदर्श मल्ल र भक्तराज देवकोटा, नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवर, डोटीका अध्यक्ष दिपेन्द्रबहादुर सिँह, स्ववियु सभापति नृपजंग थापा, प्राकृतिक स्रोत कलेज इकाई निवर्तमान सभापति किरण उपाध्याय, तरुण दल क्षेत्रीय सभापति कल्पेश कुँवर, पार्टीका क्षेत्रीय सचिव धनञ्जय रिमाल, सन्तोष पन्त, हेमन्त जोशी लगायतले समेत बोलेका थिए । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update