Hamro Patra
ट्रान्सफर्मरमा आगलागी पश्चात विद्युत उत्पादन ठप्प

टीकापुर, भदौ ६
ट्रान्सफरमा आगलागी भएपछि राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाई आयोजनाको विद्युत गृह बन्द भएको छ । असार ३१ गतेदेखी विद्युत उत्पादन रोकिएको आयोजनाका सूचना अधिकारी नविन पौडेलले जानकारी दिएका छन । 

उनले ट्रान्सफर्मर मर्मत गर्नुपर्ने भएकोले विद्युत उत्पादनमा केही समय लाग्नसक्ने बताए । आयोजनाले गत माघ १६ गतेबाट परिक्षणका रुपमा विद्युत उत्पादन सुरु गरेको थियो । सोही मितिबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिएको सूचना अधिकारी पौडेलले बताए । 

आगजनीबाट जलेको ट्रान्सफर्मरको सामान नेपालमा नपाईने निर्माण कम्पनीले जानकारी दिएको छ । निर्माण कम्पनी टुण्डीका उदयराज पोखरेलले भारतमा समेत सो सामान बनाउन लगाउनुपर्ने बताए । 

Khadga Memorial And Janajagriti

‘त्यो सामान नेपाल त के भारतमा समेत पाईदैन’ उनले भने–‘जलेको सामानको पठाए पछि त्यसैका आधारमा भारतमा बनाउन लगाइएको छ ।’

विद्युत गृह निर्माणको समयावधि आगामी पुष मसान्त सम्म रहेको छ । निर्माण कम्पनीले त्यसपछिको थप एकवर्ष समेत विद्युत गृहमा आउने समस्याको जिम्मेवारी लिनुपर्ने सम्झौतामा उल्लेख रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । 

४ दशमलव ७ मेघावाट क्षमता रहेको विद्युत गृहले हाल ३ दशमलव १ मेघावाट विद्युत उत्पादन गरिरहेको थियो । तीनवटा युनिटबाट विद्युत उत्पादन गर्ने भनिए पनि दुईवटाबाट मात्रै विद्युत उत्पादन भैरहेको थियो । 

विभिन्न समयमा पाँच पटक म्याद थप गरेर निर्माण भएको विद्युत गृहमा आयोजनाले १ अर्ब लगानी गरेको छ । उसले विद्युत बेचेर वार्षिक ३० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य बोकेको आयोजना प्रमुख रबिन्द्रबहादुर थापाले जानकारी दिए । 

विद्युत उत्पादन भएर राष्ट्रिय प्रशारणमा जोडिए पनि विद्युत गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार भएको छैन । अध्ययनका नाममा कार्यविधि विगत सात महिनादेखी मन्त्रालयमा थन्काईएको छ । 

आयोजनाले पुष महिनामै कार्यविधि तयार पारेर स्विकृतीका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बुझाएको थियो । कार्यविधिमा सो मन्त्रालयका सचिवको अध्यक्षतामा चार सदस्यीय समिति गठन गर्ने उल्लेख छ । सो समितिको सदस्यहरुमा महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख रहने व्यवस्था गरिएको छ । 

सिँचाईसँगै विद्युत समेत उत्पादन थालेको यो आयोजना देशकै नमूना बहुउदेश्यीय परियोजना हो । आयोजनाले सिँचाई, विद्युत, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update