Hamro Patra
टीकापुरमा माघ ४ गते ओशो ध्यानोत्सव हुने

टीकापुर, माघ २

ओशो जीवन जागृति केन्द्र टीकापुरको आयोजनामा शनिवार (माघ ४ गते) एक दिवसीय विराट ध्यानोत्सव हुने भएको छ । केन्द्रले आज टीकापुरमा पत्रकार सम्मेलन गरी ध्यानोत्सवमा ओशोका भाई स्वामी शैलेन्द्र सरस्वतीले प्रवचन दिने जनाएको छ ।

Khadga Memorial And Janajagriti

संवादका माध्यमबाट जीवन जगतका बारेमा जानकारी दिने उद्देश्यले ध्यानोत्सव आयोजना गरिएको ओशोका पश्चिम प्रमुख परशुराम चपाँईले जानकारी दिए । उनले ध्यानोत्सवमा सहभागी भएपछि ध्यान, योग र समाधीका बारेमा जान्न सकिने बताए । सो अवसरमा ओशोका नेपाल प्रमुख स्वामी बोधिसत्य मैत्रेयको समेत उपस्थिति रहने बताईएको छ ।

टीकापुरस्थित योगाश्रममा सञ्चालन हुने ध्यानोत्सवमा करिव एकहजार भन्दा बढीको सहभागिता रहने चपाँईले बताए । ध्यानोत्सव ओशोका बारेमा जान्ने र बुझ्ने सुनौलो अवसर भएको बताउँदै आचार्य केशरबहादुर कुँवरले सबैको सहभागिताका लागि आग्रह गरेका छन । उनले ध्यानोत्सवमा सहभागी भए वाफत कुनै शुल्क तिर्न नपर्ने बताए ।

उनले ध्यानोत्सवमा सबै धर्ममा आस्थावान व्यक्तिहरुले सहभागीता जनाउन सक्ने बताए । उनले ओशोले कुनै पनि धर्मलाई राम्रो र नराम्रो नजरले नहेरेको बताउँदै ओशोका नजरमा सबै धर्म समान रहेको बताए ।

यो ध्यानोत्सव जिल्लास्तरमा आयोजना हुने देशकै पहिलो कार्यक्रम भएको बताईएको छ । ‘यस्तो कार्यक्रम राष्ट्रिय स्तरमै काठमाण्डौं र चितवनमा हुने गरेको छ’ कुँवरले भने–‘तर जिल्लास्तरमा पहिलो पटक हो ।’ ध्यानोत्सव शनिवार ११ बजेर १५ मिनेटदेखी साँझ ५ बजेसम्म चल्नेछ ।

केन्द्रले ध्यानोत्सवको सबै तयारी पूरा भैसकेको जानकारी दिएको छ । ओशोमा आवद्ध व्यक्तिहरुले आर्थिक संकलन गरेर ध्यानोत्सवको आयोजना गरेका हुन ।

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update