Hamro Patra
मोहना नदीमा बाढी, तटीय क्षेत्रमा सतर्कता, केही भूभाग डुबानमा

टीकापुर, भदौ ५
कैलालीको सिमावर्ती नदी मोहनामा पानीको बहाव बढेको छ । जिल्लाका विभिन्न ठाउँमा भैरहेको भारी वर्षाका कारण नदीमा पानीको बहाव बढेको हो । मोहना मात्रै नभई यसका सहायक नदीहरुमा समेत पानीको बहाव बढेको बतार्ईएको छ । 

वर्षाका कारण बाढी आएर नदीहरुमा पानीको बहाव सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । नदीहरुमा पानीको बहाव बढेपछि तल्लो तटीय बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Khadga Memorial And Janajagriti

जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण खोलानालामा बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ ।

गौरीगंगा नगरपालिकाको वडा नम्बर ७ र ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिकाको वडा नम्बर ९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ । यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ ।

मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म निरन्तर पानी परिरहेको छ । आज बिहान सम्म सबैभन्दा धेरै वर्षा मधेश प्रदेशको पर्सा जिल्लामा भएको छ । पर्साको टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी बाराको सिमरा एयरपोर्टमा १२९.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्टमा पनि भारी वर्षा भएको छ । धनगढी एयरपोर्टमा    ९७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको जनाएको छ । दोधारा मौसम केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । नुवाकोटको ककनी, कैलालीको टीकापुर लगायत स्थानमा पनि भारी वर्षा रेकर्ड भएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update