Hamro Patra
विरोधका बीच निजामती सेवा ऐन बहुमतले पारित

धनगढी, भदौ ४
राना थारु समुदायको विरोधका बीच मङ्गलवार सुदूरपश्चिम प्रदेशसभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्कीले आजको प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरे ।

Khadga Memorial And Janajagriti

माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दल नेता घनश्याम चौधरीले विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ति जनाए । ‘निजामती सेवामा राना थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ,’ ओलीले भने ।

यस्तै चौधरीले राना थारु समुदायको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व कम गराउने गरी विधेयक संशोधन गरिएको बताए ।

नेकपा (एमाले) र कांग्रेसका सांसदहरूले उक्त विधेयकको समर्थन गरे । एमालेका सांसद चक्र मल्लले निजामती सेवा ऐन पारित नहुँदा प्रदेशको कार्य सम्पादनमा बाधा, अड्चन आएको बताए । ‘सबैको मुद्दा समेटिएको छ, ढोकाहरू बन्द भइसकेका छैनन्,’ उनले भने ।

कांग्रेस सांसद तुलसी देवकोटाले कार्यान्वयनको पाटोमा बढी ध्यान दिनुपर्ने बताइन । ‘ऐन कार्यान्वयनमा नआई संशोधनमा जाने प्रवृत्ति बढेको छ,’ उनले भनिन्, ‘व्यापक छलफल पश्चात् विधेयक पारित हुने चरणमा गएको छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ ।’

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update