Hamro Patra
गोयबल्स शैलीको विरोध साचो कुरामा पर्दा हाल्न झुटको सहारा

चक्रबहादुर खड्का
अछाम, भदौ २

जर्मनीका शासक एडोल्फ हिटलरको नाम नसुन्ने कमै होलान । सकारात्मक भन्दा पनि नकारात्मक पाटोमा उनको नाम अझै चर्चित छ । उनी जत्तिकै चर्चित उनका एकजना मन्त्री गोयबल्स पनि थिए । असत्य, तथ्यहीन अनि भ्रामक कुरालाई साँचो हो भनी प्रस्तुत गर्ने कलामा गोयबल्स अति माहिर थिए । सन १९३३ देखि १९४५ सम्मको हिटलरको शासनमा उनका मन्त्री गोयबल्सको काम झुटोलाई साँचो प्रमाणित गर्नेमा थियो । क्रूर नाजी शासन पतन भएको ७९ वर्ष भैसकेको छ तर गोयबल्सलाई गुरु मान्नेहरू अछाममा पनि छन । पञ्चदेवल विनायक नगरपालिकाको नेतृत्वको सकारात्मक अनि राम्रा काम माथि पर्दा राख्न उनीहरू ठ्याक्कै गोयबल्स शैलीको सहारा लिइरहेका छन ।

अछाम काँग्रेसको राजनीतिमा प्रभावशाली मानिने नगर प्रमुख अम्बिका चलाउने र उपप्रमुख हर्कबहादुर रावललाई गलत साबित गर्न उनीहरू गोयबल्सको जस्तै प्रोपगन्डाको सहारा लिइरहेका छन । झुटा, असत्य कुरामा आधारित प्रेस विज्ञप्ति जारी गरेर र सामाजिक सञ्जालमा लेखेर नगरको नेतृत्वलाई बदनाम गराउन हात धोएर लागेका छन । झुट कुरालाई सयौँ पटक प्रचार गर्दा सत्य साबित हुन्छ भन्ने गोयबल्सको नीति थियो । ठ्याक्कै उनका अनुयायीहरू पनि बारम्बार झुट बोलेर पञ्चदेवल विनायकका नगर प्रमुख र उपप्रमुख सहित कार्यपालिकालाई गलत साबित गर्न बारम्बार प्रयास गरिरहेका छन् । यथार्थ भन्दा धेरै पर अति पूर्वाग्रह राखेर पञ्चदेवल विनायकमा झुटो कुरालाई साँचो हो कि ! भन्ने जस्तो व्यापक भ्रम सृजना गरिरहेका छन ।

अछामको पञ्चदेवल विनायकका गोयबल्सका अनुयायीहरू प्रेस विज्ञप्तिका माध्यमबाट र सामाजिक सञ्जालको दुरुपयोग गरेर सोह्रै आना झुटो कुरा गरिरहेको प्रस्ट भएको छ । नगरपालिकाको नेतृत्वले नराम्रो गरे जस्तो लाग्दैन, सीमित स्रोत साधनको प्रयोग गरेर उहाँहरूले राम्रै गर्नु भएको छ । एकजना स्थानीय बुद्धिजीविले भने ‘नगरमा धेरै राम्रो काम भएको छ नगरका सुगमदेखि दुर्गम सबै ठाउँमा आवश्यकतामा आधारित काम भएको देखिन्छ ।’

Khadga Memorial And Janajagriti

नगरपालिकाको नेतृत्व विरुद्ध गोयबल्स शैलीमा शुरु भएको प्रोपगन्डाको स्थानीय बुद्धिजीविहरूले निको मानेका छैनन । एकजना अर्का बुद्धिजीविले भने पनि बेलाबखत गोयबल्स शैलीको सहारा लिएर जथाभाबी गरिरहेका हुन्छन । ‘सोच नै नकारात्मक भएपछि केही पनि सकारात्मक कुरा देखिँदैन । यहाँ सोच नै नकारात्मक राखेर प्रोपगन्डा गरिँदैछ’ आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती बुद्धिजीविले भने । सामाजिक सञ्जालमा पञ्चदेवल विनायक नगरपालिकाको नेतृत्व विरुद्ध नकारात्मक लाइनमा जे जति कुरा आइरहेका छन् तिनमा कुनै सत्यता छैन भन्नेमा नगरपालिकाका स्थानीय बासिन्दा एकमत छन् । झुटो कुरालाई हामी कसरी साँचो हो भनौ सबै कुरा झुटो मात्रै देख्छु सामाजिक सञ्जालमा, आफ्नो मौलिक शैलीमा उनले भने प्रेस विज्ञप्तिमा आएको कुनै कुरामा सत्यता छैन ।

कुराकानीका क्रममा उनले अलि निराश भएर भने अम्बिका जी र हर्क सरलाई खुलेर काम गर्न दिइरहेका छैनन् यहाँ जेमा पनि विरोध मात्रै गर्छन । कुराकानीका क्रममा नाम उल्लेख गर्न नचाहने कारण सामाजिक सञ्जालमा झुटो कुरा गरेर चरित्र हत्या गर्छन कि भन्ने डर त्रासले काम गरेको प्रस्ट बुझिन्छ । आफ्ना विरुद्ध प्रायोजित रूपमा झुटो प्रोपगन्डा विरुद नगर प्रमुख चलाउने र नगर उप–प्रमुख रावल कडा प्रतिवाद गरिरहेका छन । दुबैको कडा स्वरमा एउटै धारणा छ ‘गलत गरेको भए हामी कार्बाही भोग्न तयार छौ तर झुटो कुरा गरेर बदनाम गर्न पाइँदैन ।

झुटो आरोपका विरुद्ध निश्चितै हामी कानुनी उपचार खोज्छौ ।’ कार्यालयको कामको सिलसिलामा काठमाडौँ रहेका मेयर चलाउनेले भनिन् ‘हामी भन्दा माथि धेरै कानुनी निकाय छन कमजोरी गरेको भए त्यहाँ पुगेर उजुरी गर्दा भयो नि, दुधको दूध पानीको पानी थाहा भैहाल्छ’ उनले प्रस्ट पार्दै भनिन् ‘पहिले पनि मुद्दा मामिला नगरेका होइनन् हामीले कुनै कमजोरी गरेका थिएनौं जति आरोप लगाए पनि हामी बेदाग निस्कियौं ।’

प्रमुख चलाउनेले भने जस्तै गोयबल्स शैली पछ्याउनेहरू जति सक्रिय भएर झुटो कुरालाई साँचो बनाउन लागिरहेका छन् उनको राम्रो कामको प्रशंसा गर्ने हरू पनि उत्तिकै छन । पञ्चदेवल विनायकका स्थानीय बासिन्दाहरूले अम्बिका चलाउनेको कामको मूल्याकँन गरेका छन । शिक्षातर्फको सम्पूर्ण विद्यालय सुधार योजना, जस्तापाता मुक्त भवनको सुरुवात, विद्यालयमा ई–हाजिरी जडान अनि नियमित विद्यालय अनुगमनको चौतर्फी प्रशंसा भइरहेको छ ।

स्वास्थ्यतर्फ नगरपालिकाले गरेको उपलब्धी अछाम जिल्लामै उत्कृष्ट छ । सुत्केरी पोषण कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्ने आमाहरुलाई जिल्लाभित्र निःशुल्क एम्बुलेन्स सेवा, पालिकामा आँखा उपचार केन्द्र स्थापना, अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त नेत्ररोग विशेषज्ञ डाक्टर बिद्याप्रसाद पन्तद्वारा आँखा उपचार शिविर, नगरभित्रका ग, घ वर्गका एचआइभी संक्रमित वार्षिक ६ हजार रुपैयाँ उपचार खर्च, नगरपालिकाभित्रका विपन्न नागरिकलाई आर्थिक सहायता यी महत्वपूर्ण कामको  नगरपालिकाभित्र बाहिर उच्च मूल्याकंन भएको छ ।

नगर प्रमुखको नेतृत्वमा नगर अस्पतालको निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । नगरका टाढाका बस्ती वडा नम्वर ६ तोलीको बान्ने, वडा नम्बर ८ बरलाको बोहरा गाउँ र वडा नम्बर ९ कालेकाडाको भाटगाउँमा बर्थिङ सेन्टर स्थापना गरेर सेवा नियमित रुपमा दिनु स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको सबै नगरबासीको साझा बुझाई हो । जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण, आमा समुहलाई बैठक खाजा सुविधा, महिला स्वयंसेविकालाई विशेष सेवा सुविधा दिएर नगरपालिकाको नेतृत्वले उदाहरणीय कामको सबैतिर प्रशंसा भैरहेको छ । मानिसका साथै पशुपन्छी स्वास्थ्यका बारेमा म पनि नगरको नेतृत्व अति संबेदनशील छ ।

हरेक वर्ष नियमित सबै वडामा पशु स्वास्थ्य शिविर गरेर नगरपालिकाले सेवा दिइरहेको छ । पूर्वाधारका सवालमा नगरको प्रशासनिक भवन निर्माण, सबै नौ वटा वडाको कार्यालय भवन निर्माण पञ्चदेवल नगरको केन्द्रको बजारको सुधारको लागि बृहत् योजना, कर्णाली करिडोरसँग जोड्ने भानाकोट खुलालु सडक, नगरका सबै वडाका केन्द्रमा जोडने सडक, मध्यपहाडी राजमार्ग भएर कमलबजार नगरपालिका हुँदै तुर्माखाँद जोड्ने सडकका लागि नगरपालिकाको नेतृत्वले प्राथमिकताका साथ काम गरिरहेको छ ।

नगरका सबै नागरिकलाई खानेपानीको सुविधा पु¥याउन नगरपालिकाको नेतृत्वले निरन्तर गरिरहेको कामप्रति आमनगरबासीको सकारात्मक साझा बुझाई रहेको छ । नगरका नागरिकका सानादेखि ठूला काममा नागरिकले दुःख नपाउन भनेर नगरको नेतृत्वको पूर्वाग्रह रहित काम कारबाहीमा कसैले गोयबल्स शैलीमा पर्दा हालेर मेटिँदैन भन्नेमा समाजका अगुवाहरू एकमत छ्न ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update