Hamro Patra
कोरीयाली विद्यार्थीको टिम टीकापुरमा

योगेश रावल
टीकापुर, माघ २
विश्वबन्धुत्वको भावना जगाउन दक्षिण कोरीयाको खेङ्साङ् नेसनल यूनिभर्सिटीका विद्यार्थीहरु टीकापुर पुगेका छन । सो यूनिभर्सिटीमा स्नातक तहमा अध्ययनरत ३४ जना विद्यार्थी, १ प्रोफेसर र ४ जना अन्य कर्मचारीको टोली पुस २३ गते टीकापुर पुगेको हो ।

Khadga Memorial And Janajagriti

उनीहरुले टीकापुर नगरपालिका–१, स्थित कर्णाली मावि कक्षा ६ का विद्यार्थीहरुसँग दुई देशका भाषा, संस्कृति, खेलकुद (तेक्वान्दो) र मनोरञ्जनका बारेमा सिकाई आदानप्रदान गरिरहेका छन ।
उनीहरुले आफ्नो टोलीलाई पाँच भागमा विभाजन गरेका छन । जसमध्ये पहिलोले भाषा, दोस्रोले संस्कृति, तेस्रोले खेल (तेक्वान्दो) र चौथोले मनोरञ्जनात्मक क्रियाकलापका बारेमा सिकाई आदानप्रदान गरिरहेका छन । उनीहरुको पाँचौ टोलीले अन्य सबै टोलीलाई सहयोगीको भूमिका निर्वाह गरिरहेको यूनिभर्सिटीका प्रोफेसर ओजे सेनले जानकारी दिए ।

उनीहरु आफैले विद्यार्थीका लागि विद्यालय हाताभित्र फुटवल मैदान, भलिवल र ब्याडमिन्टन कोर्ट निर्माण गरिदिएका छन । यसका साथै विद्यार्थीका लागि प्रशस्त मात्रामा शैक्षिक र खेलकुद सामाग्री समेत प्रदान गरेको प्रधानाध्यापक धर्मराज शर्माले बताए ।
कोरीयन विद्यार्थीसँग कक्षा ६ का १२० जना विद्यार्थीले सहकार्य गरिरहेका छन । उनीहरुलाई एकवर्ष अघि नै कोरीयन टिमले सिकाई आदानप्रदानका लागि छनौट गरेको थियो ।
सो यूनिभर्सिटी र सुदूरपश्चिम विश्वविद्यालयबिच २०१९ जनवरीमा शैक्षिक तथा अनुसन्धानात्मक कार्यको विकासका लागि आपसी समझदारीमा हस्ताक्षर भएको थियो । यूनिभर्सिटीले टीकापुर बहुमुखी क्याम्पसमा रहेको विश्वविद्यालयको कृषि अन्र्तगतको डिन कार्यालयसँग सहकार्य गर्ने गरी समझदारीमा हस्ताक्षर गरेको थियो ।


यसका साथै यूनिभर्सिटीले टीकापुरमा रहेको एक सरकारी स्कुलमा भाषा, संस्कृति, खेलकुद (तेक्वान्दो) र मनोरञ्जनका बारेमा सिकाई आदानप्रदान गर्ने प्रस्ताव अनुसार कर्णाली मावि छनौट भएको सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक डा. यज्ञराज पाण्डेयले जानकारी दिए । उनी दक्षिण कोरीयाबाट उच्च शिक्षा हासिल गरेर फर्केका हुन । उनकै पहलमा यूनिभर्सिटी र विश्वविद्यालयबीच हस्ताक्षर भएको थियो ।
कोरीयाली विद्यार्थीको टिम कर्णाली माविका विद्यार्थीहरुसँगको सहकार्यमा निकै खुशी देखिएको यूनिभर्सिटीका प्रतिनिधि हाक खेङले बताए । उनले सुरुका एक÷दुई दिन गाह्रो भएपनि विद्यार्थीहरु बिस्तारै रमाउँदै गएको बताए । ‘पहिलो र दोस्रो दिन विद्यार्थी निकै तनाबमा थिए । उनीहरुलाई आफूहरुको उद्देश्य पूरा हुँदैन कि भन्ने लागेको थियो’ उनले भने–‘तर अहिले उनीहरु निकै रमाएका छन ।’


यूनिभर्सिटीका प्रोफेसर सेनले आफूहरुको मुख्य उदेश्य ग्लोबल सिटिजनका माध्यमबाट विश्वबन्धुत्वको भावना जगाउनु रहेको बताए । उनले विश्व एक घर र विश्वभरी छरिएर रहेका नागरिक एक परिवार भन्ने भावनाको विकास हुन जरुरी रहेको बताए । ‘अब यो देश, त्यो देशको नागरिक भन्ने हुँदैन’ उनले भने–‘हामी सबै एक परिवार हौं । हाम्रो उद्देश्य नै यही हो ।’


यूनिभर्सिटीले आगामी छ वर्षसम्म यसैगरी काम गर्नेछ । उनीहरुले पुनः यिनै विद्यार्थीलाई रोज्ने वा अन्य विद्यालयसँग सहकार्य गर्ने भन्ने बारेमा एक वर्षपछि प्राप्त हुने उपलब्धीले तय गर्ने जनाईएको छ ।

कोरीयन विद्यार्थी कर्णाली माविमा विद्यार्थीहरुसँग । तस्विर योगेश रावल

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update