Hamro Patra
कुशल देउबालाई कप्तानी अवसर

काठमाडौं, भदौ २
आजदेखि काठमाडौंमा सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी सुदूरपश्चिमका कुशल देउबाले गर्दैछन् । घरेलु फुटबल र उमेर समूहमा राम्रो प्रदर्शन गर्दै आएका कुशललाई मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानी जिम्मेवारी दिएका हुन् ।

घरेलु मैदानमै हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली टोलीको नेतृत्व गर्न पाउँदा कुशल खुशी छन् र उत्साहित पनि । साथै घरेलु मैदानमै हुने प्रतियोगितामा आफ्नो टिमलाई एकजुट बनाएर अघि बढाउने उनको लक्ष्य छ ।

Khadga Memorial And Janajagriti

‘कप्तानको रुपमा दबाबभन्दा पनि टिमलाई कसरी नेतृत्व दिने भन्नेमा केन्द्रित छ,’ कप्तान बन्दाको क्षणबारे सोधिएको प्रश्नमा कुशलले भने, ‘सबैलाई राम्रोसँग एकजुट गराएर नेतृत्व गर्ने र नेपाललाई जिताएर केही दिने लक्ष्य छ ।’

कुशलको आफ्नो कप्तानीमा नेपाललाई साफ यु–२० च्याम्पियनसिपको उपाधि जिताउने लक्ष्य बनाएका छन् । यसका लागि टिम तयार रहेको कुशलले बताए । ‘हाम्रो लक्ष्य च्याम्पियन हुने नै छ । नेपालमै खेल हुँदैछ । त्यसैले हाम्रो लागि यो ठूलो प्ल्याटफर्म र ठूलो अवसर पनि हो । यसले हाम्रो लाइफ पनि चेन्ज हुन सक्छ,’ कुशलले भने, ‘हामी बलियो मानसिकता बनाएर जित्नका लागि खेल्नेछौँ ।’

च्याम्पियन बन्नका लागि टिममा अनुभवी र नयाँ खेलाडीको राम्रो समिश्रण रहेको कुशलले बताए । कप्तान कुशलले गत वर्ष उपाधि जित्न नसकेको पीडा बिर्सेका छैनन् । त्यसैले उनले यस पटक आफ्नो कप्तानीमा नेपाललाई च्याम्पियन बनाउने लक्ष्य राखेका छन् । गत वर्ष भएको पाँचौ संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिएको थियो ।

पाँच संस्करण खेल्दा नेपाल दुई पटक विजेता र दुई पटक सेमिफाइनलसम्म पुगेको छ भने एक पटक समूह चरणबाटै बाहिरिएको छ ।

साफ यु–२० च्याम्पियनसिपमा दक्षिण एसियाका पाकिस्तानबाहेक ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित श्रीलंका र बंगलादेश समूह ‘ए’ मा छन् भने साविक विजेता भारत, भुटान र माल्दिभ्स समूह ‘बी’ मा छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले भदौ २ गतेमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले समूहको दोस्रो खेल भदौ ६ गते बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update