Hamro Patra
लेखा प्रणाली बन्द हुन तीन दिन अघि मात्रै ६८ लाख झ्वाम

टीकापुर, भदौ १
कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिकाले पालिकाको लेखा प्रणाली बन्द हुन तीन दिन मात्रै बाँकी रहँदा ६८ लाख रुपैयाँ मनोमानी रकमान्तर गरेको पाइएको छ ।

पालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजित बजेटको भैपरी आउने चालु खर्च शीर्षकबाट २०८१ असार २१ गते ६८ लाख रुपैयाँ मनोमानी रकमान्तर गरेको पाइएको हो । 

नगरपालिकाका नगर प्रमुख केबल चौधरीको हस्ताक्षर तथा कार्यालय प्रमुख एवं कार्यपालिका सदस्य सचिव निलमकुमार न्यौपानेले २०८१ असार २१ गते प्रमाणित गरेको निर्णयमा विभिन्न शीर्षकमा ६८ लाख रुपैयाँ रकमान्तर गरिएको छ । 

Khadga Memorial And Janajagriti

उक्त रकम मध्ये अधिकांश रकम भत्ता, सवारी साधन मर्मत, नगर सभा सञ्चालन, सञ्चार महशुल, इन्धन तथा पदाधिकारीको भ्रमणमा जस्ता सुविधाका लागि रकमान्तर गरिएको हो । 

कार्यपालिकाको निर्णय नं. (ड) मा ‘यस नगरपालिकाको भैपरी आउने चालु खर्च शीर्षकबाट देहाय बमोजिमका बजेट शीर्षकमा बजेट अपुग भई योजना र कार्यक्रममा असर पर्न गएकाले देहाय बमोजिमको शिर्षकमा थप बजेट विनियोजन गर्ने निर्णय गरियो’ भनिएको छ ।  

कुल ६८ लाख मध्ये विविध खर्च ५ लाख, दैनिक भ्रमण भत्ता ५ लाख, अनुगमन भत्ता ५ लाख, नगरसभा सम्बन्धी बजेट व्यवस्था ७ लाख, सवारी साधन मर्मत १० लाख र कर्मचारी बैठक भत्ता ५ लाख छुट्याइएको छ । 

त्यस्तै संचार महसुल ५ लाख, इन्धन ५ लाख, पदाधिकारी बैठक भत्ता ७ लाख, वडा नं.६ मा मर्मत सम्भार काठेपुल बापतको रकम २ लाख, वडाको विविध खर्च ७ लाख र  पदाधिकारी भ्रमण भत्ता ५ लाख छुट्याइएको छ । 

पालिकाले सञ्चालन गर्दै आएको लेखा प्रणाली ‘सुत्र’ असार २४ गतेदेखि बन्द हुँदै आएको छ । प्रणाली बन्द हुनुभन्दा तीन दिन अघि ६८ लाख रुपैयाँ पदाधिकारी तथा कर्मचारीको सुविधामा वितरण गरिएको निर्णय बाहिरएपछि पालिकाको आलोचना हुन थालेको भजनीका स्थानीय रामनरेश चौधरीले बताए ।

‘भैपरी आउने शीर्षकमा खर्च हुनसक्छ तर तीन दिन अघि मात्रै ६८ लाख रुपैयाँ रकमान्तर हुनु भनेको दालमे कुच काला है भन्ने बुझिन्छ’ चौधरीले भने ‘जनताको सेवा सुविधाका लागि विकास निर्माण खर्च गर्नुको साटो आफ्नो सुविधामा खर्च गर्न निर्णय गरेका हुन्, यसको स्थानीयले विरोध गरिरहेका छन् ।’

पालिकाको उक्त निर्णय सामाजिक सञ्जालमा समेत व्यापक शेयर भइरहेको छ । लेखा प्रणाली बन्द हुन तीन दिन मात्रै बाँकी रहँदा ६८ लाख रुपैयाँ रकमान्तर गरिएको विषयमा बुझ्न खोज्दा पालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानले प्रयोग गर्दै आइरहेको ९८४३१०५८२१ मोबाइल स्वीचअफ छ । 

नगर प्रमुख केबल चौधरीले उक्त रकम कहाँ, केमा, कसरी खर्च भएको हो भन्ने बारे आफूलाई जानकारी नभएको जिकिर गरे । ‘कार्यपालिकाले निर्णय गरेपछि रकमान्तर भएको होला, नगरसभाबाट अनुमोदन हुने गरी तर खर्च कहाँ भयो भन्ने बारे मैले बुझ्नै पर्छ’ नगर प्रमुख चाधरीले भने ‘यस्ता विषय हाकिम र लेखालाई थाह हुन्छ, मैले निर्णयमा हस्ताक्षर गरे पनि कतिपय कुरा थाह हुँदैन ।’

आर्थिक वर्षको अन्तिममा आएर बजेट सक्नका लागि मनपरी रकमान्तर गर्नु सैद्धान्तिक बेरुजु हो । आगामी आर्थिक वर्षका लागि नगर सभाले निर्णय गरेपश्चात् कुनै पनि शीर्षकमा रकमान्तर गर्नु सैद्धान्तिक बेरुजु भएको पूर्व निमित्त महालेखापरीक्षक महेश्वर काफ्ले बताउँछन् । 

‘स्थानीय पालिकाहरुमा पहिले खर्च गरेर अनुमोदन गर्ने विषय लामो समयदेखि चल्दै आएको छ, यो सरासर सैद्धान्तिक बेरुजु हो’ काफ्लेले भने ‘नगर सभाले स्वीकृत गरेको बजेटको १० प्रतिशत भन्दा बढी रकम समेत रकमान्तर गर्न मिल्दैन । अझ कतिपय पालिकाले लेखा प्रणाली सुत्र नचलेको भन्दै बाहिरबाट समेत खर्च गर्ने गरेका कारण बेथितिहरु बढ्दै गएका छन् ।’

काफ्लेले आर्थिक वर्षको अन्तिममा पदाधिकारी तथा कर्मचारीको सेवा सुविधाका लागि रकमान्तर गर्ने विषयमा लेखापरीक्षकले ध्यान दिनुपर्ने बताए । भजनी नगरपालिकामा आर्थिक वर्षको अन्तिममा बजेट रकम सक्नका लागि मनपरी खर्च हुँदै आएको स्थानीयहरु बताउँछन् । 

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update