Hamro Patra
डल्फिन अवलोकन क्षेत्रमा बनेन पुल

टीकापुर, भदौ १
कैलालीको डल्फिन अवलोकन क्षेत्रमा प्रदेश सरकारले प्राथमिकतामा राखेको तीनमुखे झोलुङ्गे पुल निर्माणको अझै सुरसार छैन । पर्यापर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले काँढा र पथरैया नदीको सङ्गमस्थलमा तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि सर्भे गरेको थियो । 

टीकापुर नगरपालिका वडा नं. ७ स्थित बैदी, भजनी नगरपालिका वडा नं. ३ को दैलेखी टोल र वडा नम्बर ८ को काँढाढिक गाउँलाई जोड्ने गरी पुल निर्माणको सर्भे भए पनि काम भने सुरु हुन सकेको छैन । 

Khadga Memorial And Janajagriti

प्रदेश सरकारले गत वर्ष नै सर्भे गरे पनि पुल निर्माणका लागि थप काम अगाडि नबढाएको स्थानीय भोजराज ढुङ्गानाले बताए । पर्यापर्यटन विकासमा टेवा पुग्ने गरी तीनमुखे पुल बनाउन प्रदेश सरकारले गत वर्ष सर्भे गरेको थियो तर अझै बन्ने कुनै सुरसार छैन । 

तीनमुखे झोलुङ्गे पुल निर्माण गर्ने भनिएको स्थान दुर्लभ डल्फिन अवलोकन गर्ने ठाउँ हो । बर्खाभरि सो स्थानमा गङ्गेटिक प्रजातिको डल्फिन देखिन्छन् । पुल बनेमा त्यसबाट राम्ररी डल्फिन अवलोकन गर्न सकिने र पर्यटकको आकर्षण अझ बढ्ने स्थानीय संरक्षणकर्मी जयप्रसाद ढुङ्गानाको विश्वास छ । उनले पुल निर्माणको माग गर्दै आफूहरूले सरोकारवालालाई घचघच्याउँदै आएको उल्लेख गरे । 

झोलुङ्गे पुल नहुँदा स्थानीयले डुङ्गाको भरमा जोखिम मोलेर ओहोरदोहोर गर्दै आएका छन् । सो ठाउँमा डल्फिन मात्रै नभई  मगर गोही र घडियालसमेत रहेकाले डुङ्गामार्फत ओहोरदोहोर निकै जोखिमयुक्त रहेको जनाइएको छ । घडियाल गोहीले मान्छेलाई धेरै हानी नोक्सान नगर्ने भए पनि मगर गोहीले मान्छे मार्ने गरेको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाको भनाइ छ । नदीमा पुल नहुँदा डल्फिन अवलोकन गर्न आएका आगन्तुकलाई डुङ्गामा बसाएर डल्फिन देखाउने गरिएको छ । 

स्थानीयलाई ओहोरदोहोर गर्न सहज र पर्यटन विकासका लागि तीनमुखे पुल निकै आवश्यक रहेको टीकापुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए । उनले भने ‘पुल नहुँदा भजनीको दैलेखी टोल र काँढाढिकका स्थानीयलाई धेरै समस्या छ । डल्फिन अवलोकन क्षेत्र रहेका कारण पर्यटन विकासका लागि पनि यो ठाउँमा तीनमुखे झोलुङ्गे पुल एकदम आवश्यक हो ।’

वडाध्यक्ष न्यौपानेका अनुसार बेलुवा जनकपुरघाट पुल, ढुङ्गाना टोल डल्फिन अवलोकन क्षेत्र र भजनी–८ जोड्ने अर्को पुलका लागि भने यो वर्ष बजेट आएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update