Hamro Patra
स्कुल अफ एग्रिकल्चर दोस्रो ब्याचको विदाई समारोह

टीकापुर, साउन ३२
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चर दोस्रो ब्याचका विद्यार्थीहरुलाई नेविसंघ ईकाई कमिटीले आज एक समारोहबिच विदाई कार्यक्रमको आयोजना गरेको छ । 

ईकाई कमिटी अध्यक्ष बसन्त बोहराको अध्यक्षतामा भएको विदाई कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य केशरी रावल बिष्ट रहेकी थिईन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्टले आफ्नो योग्यताका माध्यमबाट स्वदेशलाई सम्वृद्ध बनाउने कार्यमा संलग्न हुन आग्रह गरिन । 

उनले प्राविधिक जनशक्ति उत्पादन भएपनि स्वदेशमै त्यसको सदुपयोग हुन नसक्नु दुर्भाग्य भएको बताउँदै राज्यले दक्ष जनशक्तिलाई विदेशीनबाट रोक्नुपर्ने बताईन । उनले राजनीतिक अस्थितरताले युवाहरु विदेशीन वाध्य भएको बताईन । 

Khadga Memorial And Janajagriti

उनले इजरायलमा ज्यान गुमाएका स्कुल अफ एग्रिकल्चरका पहिलो ब्याचका विद्यार्थी प्रति शोक व्यक्त गर्दै बेपत्ता बिपिन जोशीको खोजीका लागि सरकारसँग आग्रह गरिन ।  

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाहले दक्ष जनशक्तिको रुपमा किसानको सारथि बनेर कृषिको व्यवशायीकरणमा योगदान पुर्याउन आग्रह गरे । उनले राजनीति भन्दा बढी आफ्नो अध्ययनलाई महत्व दिनुपर्नेमा जोड दिए । 

उनले टीकापुर प्राविधिक शिक्षाको हब बन्दै गैरहेको बताउँदै केही समय भित्रै टीकापुरमा प्राविधिक विश्वविद्यालय स्थापनाको घोषणा हुने तयारी भैरहेको बताए । उनले त्यसका लागि पार्टीका तर्फबाट दवाव दिने काम गरिरहेको जानकारी दिए । 

कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले टीकापुर बसाईका क्रममा भोगेका तिता कुरा बिर्सेर जान आग्रह गरे । उनले टीकापुर प्रतिको सकारात्मक सन्देश बोकेर जान समेत आग्रह गरे ।   

सोही कार्यक्रममा अतिथि रहेका नेविसंघ कैलालीका सभापति मनिष कुँवरले युवाहरुले समाजलाई सकारात्मक बाटोमा डोर्याउन सक्ने भएकाले त्यसको अगुवाई गर्न आग्रह गरेका छन । उनले हरेक नेविसंघको नेता कार्यकर्ताले समाजमा सकारात्मक पहिचान बनाउनुपर्ने बताए । 

कार्यक्रममा स्कुल अफ एग्रिकल्चरका प्रमुख सुशील न्यौपाने, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सचिव धनञ्जय रिमाल, तरुण दल क्षेत्र नम्बर १ का सभापति कल्पेश कुँवर, टीकापुर बहुमुखी क्याम्पस स्ववियु सभापति नृपजंग थापा, बिरेन्द्र विद्या मन्दिर स्ववियु सभापति नविन अधिकारी, स्ववियु सचिव मणिराज भट्ट, सन्दिप आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

सो अवसरमा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । नेविसंघले अध्ययन पूरा गरेका विद्यार्थीको हकमा विदाई र नवआगन्तुकको हकमा स्वागत कार्यक्रम गर्ने गरेको छ ।   
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update