Hamro Patra
धौलीगंगा बाँध खोलिने, महाकाली नदी तटीय क्षेत्रमा सतर्कता

बैतडी, साउन ३२
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनका अनुसारले परियोजनाको बाँध भदौ १ गते शनिबार बिहान ८ बजे देखी भदौ २ गते बेलुकासम्म खोलिने जनाएको छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केहि घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिएका छन । 

Khadga Memorial And Janajagriti

एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाईका लागि बाँधको ढोका खोलिन लागिएको हो ।

बाँध खोलेको बला नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदि आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ । दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ । वि सं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update