Hamro Patra
उत्पादन बढाउन रासायनिक मलको विकल्पमा ‘ढैंचा’

टीकापुर, साउन ३१
कैलालीको जानकी गाउँपालिका वडा नं. ४ मुनुवाका किसान सबिता बडायक विगत १२ वर्षदेखि धान, गहुँ, तोरी र मसुरोको बिउ उत्पादन गर्दै आएकी छन् । स्थानीय बिजवृद्धि कृषक सहकारी संस्थाकी सदस्य रहेकी उनले धान र गहुँको बिउ उत्पादनका लागि पर्याप्त रासायनिक मल प्रयोग गर्दै आएकी थिइन् ।

हरेक वर्ष रासायनिक मलको प्रयोगले बिग्रिदै गएको उनको चार बिघा जमिनको माटोको गुणस्तर सुधार्न ढैंचा (हरियो मल) लगाउनु पर्छ भन्ने जानकारी पाएपछि उनले विगत तीन वर्षदेखि ढैंचा लगाउँदै आएकी छन् । 

‘सहकारीले आयोजना गरेको बिउ उत्पादन खेतीमा कृषि प्राविधिकले ढैंचाले माटो सुधार्ने जानकारी दिएपछि लगाउन शुरु गरेका हौं’ सबिताले भनिन् ‘धानको बिउ उत्पादनका लागि रासायनिक मलको विकल्पमा माटो सुधार्न, बिउका लागि चाहिने सबै पदार्थ पाइने हुनाले तीन वर्षदेखि ढैंचा लगाउँदै आएका छौं ।’ 

CMA Staff

सविताको अनुभवमा ढैंचा लगाएपछि युरिया मलको प्रयोग कम हुँदै गएको छ । गहुँ काटिसकेपछि सिँचाइको सुविधा हुने जमिनमा ढैंचा लगाउन सकिन्छ । ‘प्रायः धान खेती भन्दा अगाडि लगाइने ढैंचाले धानको उत्पादनमा राम्रो नतिजा दिएको छ’ उनले भनिन् ‘मैले त १० कठ्ठा जमिनमा चार वर्षदेखि तरकारी खेती समेत गर्दै आइरहेको छु, त्यसमा पनि ढैंचाको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ ।’

मुनुवाकै गोविन्द रावतले ढैंचा उम्रिएको खेतका गरामा ट्याक्टरले जोतेपछि धान रोपाई गरेका छन् । उनले रासायनिक मलको विकल्पमा दुई वर्षदेखि ढैंचा उमारेर मलका रूपमा प्रयोग गर्दै आएको बताए ।

उचित उत्पादनका लागि गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्राङ्गारिक पदार्थ २ देखि ५ प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १ शय ११ देखि २ शय ८१ किलो प्रतिहेक्टर हुनुपर्ने कृषि प्राविधिकहरु बताउँछन् । 

रासायनिक मलको प्रयोग हरेक वर्ष बढाउँदै जानुपर्ने बाध्यता भएर माटो सुख्खा हुने, अम्लीयपन बढ्ने र उत्पादन लागत समेत बढ्न थालेपछि उनले ढैंचा लगाउन शुरु गरेका हुन् । ढैंचाले माटोको गुणस्तर सुध्रिन्छ भन्ने थाहा पाएपछि विस्तारै रासायनिक मल कम गर्दै गएको उनले सुनाए ।

‘रासायनिक मलको विकल्पमा हामीले माटोका उर्बरा शक्ति कायम राख्न ढैंचा लगाउँदै आएका छौं’ उनले भने, ‘कृषि सहकारीमार्फत् धानको बिउ उत्पादन गर्दै आएकाले राम्रो बिउको उत्पादन हुन थालेपछि यस क्षेत्रमा ढैंचा लगाउने किसानहरु बढ्दै गएका छन् ।’

बिजवृद्धि कृषक सहकारी संस्था लिमिटेडका कार्यालय प्रमुख समेत रहेका रावत आफ्ना पूर्खाहरुले मलका रुपमा लगाउँदै आएको ढैंचा लोप नै भइसकेका बेला कृषि ज्ञान केन्द्र कैलालीले तालिम र बिउ उपलब्ध गराउन थालेपछि पुनः किसानहरु यसतर्फ आकर्षित भएको बताउँछन् । 

‘रासायनिक मल सहज पाइँदैन, पाए पनि महङ्गो पर्छ, उत्पादन लागत पनि बढ्ने भयो’ रावतले भने ‘गहुँ काटेर खाली रहेको जमिनमा सिँचाइको सुविधा छ भने बिउ छर्ने तीन÷चार पटक सिँचाई गरेपछि ढैंचाले मलको काम गर्छ, माटो सुधार्छ, रोगकिराबाट समेत बचाउने हुनाले बिउको दाना पनि राम्रो उत्पादन भइरहेको हामीले पाएका छौं ।’  

टीकापुरस्थित रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन इकाईले कृषकका लागि सञ्चालन गरेको तालिममा ढैंचाका फाइदाबारे जानकारी पाएपछि चार वर्षदेखि निरन्तर ढैंचा लगाउँदै आएका जानकी गाउँपालिका वडा नं. ७ का किसान देवीकृष्ण चौधरीले मागे जति ढैंचाको बिउ उपलब्ध हुन नसकेको गुनासो गरे । 

‘कृषि ज्ञान केन्द्र कैलालीमा हामीले निवेदन दिएका थियौं, उसले छनौट गरेर बिउ उपलब्ध गराएको हो’ चौधरीले भने ‘पहिले पहिले यसबारे जानकारी थिएन्, अहिले कृषकले ढैंचाको महत्व थाहा पाएपछि माग अनुसार हामीले बिउ पाउन सकेको छैनौं ।’ उनले सिँचाइ सुविधा रहेको जमिनमा स्थानीय तहले ढैंचाको बिउ उपलब्ध गराएर माटो सुधारका लागि कार्यक्रम ल्याउनु पर्ने बताए । 

परम्परागत रुपमा गरिँदै आएको खेतीमा ढैंचाको खेती हुँदै आए पनि पछिल्ला केही वर्षदेखि रासायनिक मलको अधिक प्रयोग हुँदा ढैंचा हराउँदै गएको थियो । किसानले प्राविधिक ज्ञान पाएपछि भने अहिले यसको प्रयोग बढेको छ । 

रासायनिक मल र अत्यधिक विषादीको प्रयोगले माटोको उर्बरा शक्ति र गुणस्तर बिग्रँदै गएको छ । कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले जिल्लाका अधिकांश स्थानीय तहमा माटो परीक्षण गर्दा बिग्रँदै गएको पाइएकाले केन्द्रले ढैंचाको खेतीमा किसानलाई प्रोत्साहन गरिहरेको बताए ।

चौधरीका अनुसार उत्पादन बढाउन माटो राम्रो हुन अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्रांगारिक पदार्थ उपयुक्त मात्रामा हुनुपर्छ । जथाभावी रासायनिक मलको प्रयोगले माटोको अवस्था बिग्रँदै गएको हो । गोबर मलको प्रयोग बढाउने, कृषि चुन छर्ने, घरेलु उपचार गर्ने, ढैंचा लगायतका हरियो मल प्रयोग गर्न कृषि ज्ञान केन्द्रले सुझाव दिँदै आएको चौधरीले बताए ।

ढैंचा डाँठ र हाँगा सबै भाग नरम हुने बिरुवा हो । कृषि प्रसार अधिकृत चौधरीका अनुसार धान रोप्नुअघि जमिन हिल्याउँदा उम्रिएकै ढैंचामै जोतिने भएकाले केही दिनमै सजिलैसँग ढैंचा कुहिन्छ । ‘रासायनिक मलको विकल्पमा काम गर्ने भएकाले यसलाई ढैंचालाई हरियो मल पनि भनिन्छ’ उनले भने ‘ढैंचा कोसेबाली वर्गमा पर्ने हुनाले कोसेबालीको जरामा जस्तै यसमा पनि वायुमण्डलको नाइट्रोजन सोस्ने स–साना गिर्खा हुन्छन्, जसले धान लगायतका बालीका लागि आवश्यक खाद्यतत्व सहजै उपलब्ध हुने हुनाले उत्पादन समेत वृद्धि हुन्छ ।’

किसानहरुले ढैंचाको बिउ वैशाख पहिलो सातादेखि जेठको अन्तिम सातासम्म छर्ने गरेको उनले बताए । रासायनिक मलको धेरै प्रयोगले उत्पादनमा कमी र माटोको उत्पादनशील क्षमता घटाउँदै लग्छ भन्ने जानकारी पाएपछि किसानहरु यो मलतर्फ आकर्षित भएको उनले बताए ।

पछिल्लो समयमा किसानहरुले आधुनिक यन्त्रको प्रयोगबाट कृषि खेती गर्दै आएपछि वस्तुभाउ पालनमा समेत कमी हुँदै आएको छ । गोबर मलको अभाव भएकाले पनि ढैंचा लगायतका हरियो मल उत्पादन गर्नु परेको किसानहरु बताउँछन् । 

ढैंचाले माटो खुकुलो र मलिलो गराउने हुनाले दिगो कृषि उत्पादनका लागि प्रभावकारी उपाय भएको सुदूरपश्चिम विश्वविद्यालय स्कुल अफ एग्रिकल्चरमा कार्यरत कृषि अर्थशास्त्रका उपप्राध्यापक सन्तोष उपाध्याय बताउँछन् ।

‘परम्परागत रुपमा पूर्खाहरुले लगाउँदै आएको स्थानीय ढैंचाको प्रयोगमा किसानको आकर्षण बढ्न थालेको पाइन्छ’ उपप्राध्यापक उपाध्यायले भने ‘ढैंचाको बोटले हावामा नाइट्रोजन खिचेर त्यसैबाट जरामा पठाउने गर्छ, माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रालाई ठिक ठाउँमा ल्याउनसमेत यसले मद्दत पुर्याउने हुनाले यो निकै प्रभावकारी छ ।’ 

कृषि प्राविधिकका अनुसार माटोको पीएच ६ दशमलव ५ भन्दा कम भएका अम्लीय, ६ दशमलव ५ देखि ७ दशमलव ५ सम्म भएका मध्यम र ७ दशमलव ५ भन्दामाथि भएमा क्षारीय हुन्छ । जिल्लाका कृषकमा अझै पनि माटोको परीक्षण गरी अपुग पदार्थ हालेर खेती गर्नुपर्छ भन्ने चेतनाको कमी छ । कतिपयलाई चेतना नभएका कारण समय–समयमा माटो परीक्षण गराउँदैनन् ।

बढ्दो रासायनिक मल र विषादीको प्रयोगका कारण माटोमा उर्वराशक्तिमा कमी आएर उत्पादन घट्दै गएको पाइन्छ । उचित उत्पादनका लागि गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्राङ्गारिक पदार्थ २ देखि ५ प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १ शय ११ देखि २ शय ८१ किलो प्रतिहेक्टर हुनुपर्ने कृषि प्राविधिकहरु बताउँछन् । 

दिगो कृषि उत्पादनका लागि माटो बिग्रिन नदिने उपायहरु अपनाउँदै रासायनिक मलखाद युरिया, डीएपी, फस्फोरसको मात्रा कम गर्दै ढैंचा लगायतका जैविक मलको प्रयोग बढाउनुपर्नेमा कृषि विद्हरु जोड दिँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update