Hamro Patra
टीकापुरको छैटौं नगरसभा सम्पन्न, चारवटा विधेयक पारित

टीकापुर, पुस २९

विभिन्न चारवटा विधेयक पारित गर्दै टीकापुर नगरपालिकाको छैटौं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाले हालसम्म ३९ वटा विधेयक पारित गरिसकेको छ ।

नगरसभामा विभिन्न विधेयक समितिका सभापतिहरुले आफू मातहतको समितिले तयार पारेको विधेयक प्रस्तुत गरेका थिए । आर्थिक विकास समितिका संयोजक रमेश विकले स्थानीय बजार व्यवस्थापन तथा अनुगमन विधेयक प्रस्तुत गरेका थिए । यो विधेयक पारित भएसँगै नगरपालिकाले एकल अधिकारका रुपमा रहेको स्थानीय बजार व्यवस्थापन तथा अनुगमन कार्य भई बजारमा स्वच्छता कायम हुने, व्यवशायीहरु कानूनी दायरामा आउने र उपभोक्ता हकअधिकार सुनिश्चित हुने विश्वास गरिएको छ ।

Khadga Memorial And Janajagriti

त्यस्तै सामाजिक विकास समितिका संयोजक दीर्घ ठकुल्लाले प्रस्तुत गरेको नगर शिक्षा विधेयक पारित भएसँगै मावि तहसम्मको शिक्षालाई स्थानीय तहले व्यवस्थापन गर्ने र विद्यालयमा जनशक्ति व्यवस्थापन गरी गुणस्तर कायम गर्न नगरपालिकालाई सहज भएको छ । विधायन समितिका संयोजक अक्कल माझीले स्वास्थ्य तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।

यो विधेयकले स्वास्थ्य सेवाबाट कुनैपनि नागरिक बञ्चित हुने आवस्था आउन नदिन उपलब्ध स्रोत साधनको समुचित प्रयोग गर्दै संविधानले प्रत्याभूत गरेको निशुल्क, आधारभूत स्वास्थ्य सेवालाई नगरपालिकामा व्यवस्थित, जनमुखी र प्रभावकारी बनाउन सहज हुने बताईन्छ ।

वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले जलचर एवं जलीय जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए । सो विधेयक ऐनका रुपमा कार्यान्वयनमा आए साना माछा मार्न रोक लगाउनुका साथै दुर्लभ जलचर डल्फिनको आहारा बढ्ने र डल्फिनको सुरक्षा हुने विश्वास गरिएको छ ।

ती सबै विधेयक नगरसभाको बहुमतले पास गरेको छ । विधेयक समितिले तयार पारेका विधेयक नगर कार्यपालिका बैठक हुँदै नगरसभामा प्रस्तुत गरिएका थिए । नगर कार्यपालिका बैठकले छलफल पश्चात नगरसभामा प्रस्तुत गरेको थियो ।

त्यस्तै नगरसभाले उपप्रमुख केशरी रावल बिष्टले प्रस्तुत गरेको योजना तथा कार्यक्रमहरुको संशोधन प्रस्ताव सहितको विनियोजन ऐन २०७६ समेत पास गरेको छ । यो ऐन हरेक नगरसभा प्रस्तुत हुने नियमित विधेयकका रुपमा मानिन्छ । यो पाँचौ नगरसभाले पारित गरेको विभिन्न कार्यक्रम र योजनाहरु कार्यान्वयन गर्ने क्रममा केही विनियोजन शिर्षकहरुमा रकम अपुग हुने देखिएको, कतिपय विनियोजन शिर्षकहरुमा रकम बचत हुने देखिएको र आम्दानी तर्फ अनुमान गरे भन्दा फरक शिर्षकमा नगरपालिकाले बाँडफाँड गर्ने गरी रकम प्राप्त भएकोले विनियोजन ऐनका रुपमा छैटौं नगरसभामा पेश गरिएको थियो । विनियोजन ऐनले चालु तर्फको ४१ लाख ६० हजार रुपैयाँ बजेट संशोधन गरेको छ ।

यसअघि तलब शिर्षकमा विनियोजन भएको १८ लाख २५ हजार रुपैयाँ बचत भएकाले पानी, बिजुली, सञ्चार, भ्रमण र केही फिर्ता दिनुपर्नेमा खर्च हुने गरी संशोधन भएको छ । त्यस्तै एकमुष्ठ राखिएका, बजेट अपुग भएका र बढी भएका २ करोड ४८ लाख ६१ हजार रुपैयाँ बजेट संशोधन भएको छ । यसैगरी वडा तहका केही योजना र बजेट पनि संशोधन गरिएको छ । विधेयक नगरसभाले पास गरेको १५ दिन भित्र प्रमाणित सहित राजपत्रमा प्रकाशित भएपछि ऐनका रुपमा लागु हुनेछ । सोही ऐनका आधारमा नगरपालिकाले आफ्नो कार्य सम्पादन गर्ने कानून अधिकृत केशरबहादुर थापाले बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update