Hamro Patra
टीकापुरमा नेविसंघको गो ग्रिन अभियान शुरु

टीकापुर, साउन ३०
कैलालीको टीकापुरमा नेपाल विद्यार्थी संघले गो ग्रिन टीकापुर अभियान शुरु गरेको छ । टीकापुरलाई हरित शहरका रुपमा विकसित गर्न बजार क्षेत्रको मुख्य सडकमा विभिन्न प्रजातिका बोटबिरुवा रोपेर संघले अभियानको शुरुवात गरेको हो ।

टीकापुर नगरपालिकाको समन्यवमा शुरु गरिएको अभियानका क्रममा टीकापुर अस्पताल लाइन, खानेपानी ट्यांकी र इलाका प्रहरी कार्यालयको नमूना सडकमा गुल्मोहर, ज्याकाराण्डा, बाटल ब्रस र तिकोमा लगायतका सजावटका बिरुवा रोपेर अभियानको शुरुवात गरिएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य एवं अभियानका संयोजक टेकेन्द्रसिंह विष्ट (मानस)ले जानकारी दिए । 

Khadga Memorial And Janajagriti

नगरपालिकाको सहकार्यमा लगाइएका बोट मौसम अनुसार फुल्ने र नगरको सौन्दर्यता बढाउन मद्दत पुग्ने भएकाले अभियानको शुरुवात गरेर ट्रि गार्डसहित बिरुवा रोपिएको केन्द्रिय सदस्य विष्टले बताए । विष्टको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु प्रमुख अतिथि रहेका थिए ।

उनले नगरको सौन्दर्य बढाउन जनप्रतिनिधि र नगरपालिकाले मात्रै सम्भव नभएकाले नागरिकको सहभागिता हुन आवश्यक रहेको बताए । ‘नगरको सौन्दर्यता बढाउन यस्ता रचनात्मक कार्यका लागि नगरपालिका सहकार्य गर्न तयार रहेको छ’ नगर प्रमुख थारुले भने ‘युवाहरुको यो कामबाट म निकै खुशी भएको छु ।’

कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति नरेशकुमार खत्री, वडा सभापति चक्रबहादुर बटाला, नेपाल तरुण दलका क्षेत्रीय सभापति कल्पेश कुँवर, नगर सभापति किरण कडायत, सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका इकाई सभापति बसन्त बोहरा, प्राकृतिक श्रोत व्यवस्थापन कलेजका इकाई सभापति सर्जन जोशी लगायत नेपाल विद्यार्थी संघमा आबद्ध नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन टीकापुर बहुमुखी क्याम्पसका स्ववियु सभापति नृपजंग थापाले गरेका थिए । आगामी दिनमा समेत अभियानबाट टीकापुरका अन्य क्षेत्रमा सजावटका बोटविरुवा रोप्ने संघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update