Hamro Patra
गगन थापाले मन्त्रीहरुलाई भने ‘‘मौन बस्नुस् काम गर्नुस्’

काठमाण्डौं, साउन २९
नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय सरकारका मन्त्रीहरूलाई नागरिकले सेवा पाउने स–साना काम गर्न आग्रह गरेका छन । 

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोलेका कांग्रेस महामन्त्री थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको पनि बताए । 

‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ’ उनले भने, ‘साउन सकिन लाग्यो । तीर्थब्रत पनि सकिन लाग्यो । भदौ लाग्न लाग्यो, भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने ब्रत लिइदिनुस्, उद्घाटन नगर्ने ब्रत ।’ उनले हरेक दिन समाचारमा मन्त्रीहरूका भाषण आउने पनि बताए । 

CMA Staff

अहिलेको संघीय सरकारमा कांग्रेसका १०, एमालेका प्रधानमन्त्रीसहित ९, जसपाका २, लोसपाका १ मन्त्री र कांग्रेसका दुई तथा नाउपाका एक राज्यमन्त्री पनि छन ।

मन्त्रीहरूले एउटा मात्रै काम गरे त्यसको पाँच गुणा ज्यादा प्रचार आफूहरूले गर्ने पनि थापाले बताए । मन्त्रीहरूले संसद आउने, सांसदका कुरा सुन्ने र मन्त्रालय गएर काम गर्नुपर्ने भन्दै थापाले बाहिर नबोल्न पनि आग्रह गरेका छन । 

‘कहीँकतै मन्त्रीको अन्तर्वार्ता पढ्न नपरोस्, भाषण सुन्नु नपरोस’ उनले भने–‘प्रधानमन्त्रीले पनि म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भनिराख्ने होइन । यो भन्नै पर्दैन प्रधानमन्त्रीले भ्रष्टाचार गर्नै पाउँदैन ।’

महामन्त्री थापाले अहिलेका मन्त्रीहरूलाई दुई वर्षको आधार बनाएर काम गर्न पनि आग्रह गरेका छन ।

महामन्त्री थापाले गिरीबन्धु टी–इस्टेट, भुटानी शरणार्थी, विद्युत बक्यौता लगायतका विषयलाई पनि प्रधानमन्त्रीले सही ढंगले निरूपण गर्नुपर्ने बताए । कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारले सेवा प्रवाह गर्नैपर्ने थापाले बताए ।

‘अहिले कांग्रेस र एमाले मिलेर बनेको सरकार छ, यो एउटा जोखिम पनि हो । यसले डेलिभरी गर्नैपर्छ,’ उनले भने–‘यसले आफूले गरेका बाचा पूरा गर्नैपर्छ । त्यो बाचा पूरा गर्न भित्रैबाट हामी मद्दत गर्न चाहन्छौं ।’

उनले सरकारका नराम्रा कामलाई समर्थन गर्न नसकिने र प्रश्न गरिने पनि बताएका छन । उनले यो संसदले सबैभन्दा बढी कानून पनि बनाउनुपर्ने बताए ।

महामन्त्री थापाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरूबीच सहमति बन्नु राम्रो विषय भएको र सरकारले चाँडै प्रतिनिधि सभामा पेस गर्ने विश्वास व्यक्त गरे । उनले सबैको चित्त बुझाएर संविधान संशोधन गर्नुपर्ने बताए । 

‘संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व अझै थप सुदृढ हुने गरिकन संविधान संशोधन गरेमा यसभित्र देखिएका जटिलताहरू हल हुनेछन’ उनले भने ।

उनले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन दिने, सेवा प्रवाह र विकासलाई अर्को चरणमा पु¥याउने सरकारको उद्घोषमा सफलता प्राप्त गर्नुपर्ने पनि बताए । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update