Hamro Patra
लागुपदार्थ दुर्व्यसनमा बालबालिका

परमानन्द पाण्डे
टीकापुर, २४ चैत्र
कैलालीको पूर्वी क्षेत्रमा लागुपदार्थ सेवन गर्नेहरुमध्ये बालबालिकाको संख्या डरलाग्दो रुपमा देखिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले पछिल्लो एक वर्षमा सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियानले उक्त डरलाग्दो तथ्यांक देखाएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार झण्डै एक वर्षको अवधिमा पक्राउ गरिएका एक हजार ६ शय ४१ जना लागुपदार्थ दुव्र्यसनी मध्ये एक हजार १ शय ९४ जना बालबालिका रहेका छन् । उक्त संख्यामा पक्राउ परेका १६ वर्षमुनिका बालबालिकाहरु विभिन्न विद्यालयमा अध्ययनरत छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले प्रहरीले नियन्त्रणमा लिएका अधिकांश बालबालिका लागुपदार्थको दुव्र्यसनी रहेको बताए । ‘झण्डै १० महिनाको अवधिमा हामीले पक्राउ गरेका १ हजार १ शय ९४ बालबालिका छन् भने ४ शय ४७ जना अन्य उमेरका छन्’–डिएसपी सिंहले भने– ‘उनीहरु विभिन्न विद्यालयमा अध्ययनरत १६ वर्षमुनिका छन् । यो तथ्यांक निकै डरलाग्दो हो ।’

Khadga Memorial And Janajagriti

भारतीय सीमावर्ती तिकुनियाँ बजारसँगै जोडिएको टीकापुरमा खुल्ला रुपमा भित्रिने लागुपदार्थका कारण बालबालिकाहरु प्रभावित हुँदै गएका छन् । साथीसँगको संगत, आफ्ना बालबालिकाप्रति अभिभावकको वेवस्ता जस्ता कारणले बालबालिकाहरु दुव्र्यसनीको सिकार भइरहेका छन् । भारतसँगको खुल्ला सीमानाबाट ब्राउनसुगर, चरेश लगायतका लागुपदार्थहरु भित्रिने गरेका कारण पनि बालबालिकाहरु दुव्र्यसनीमा फस्दै गएका हुन् ।

टीकापुर प्रहरीले पछिल्लो दश महिनाको अवधिमा विभिन्न पटक गरी ७० ग्राम ब्राउनसुगर बरामद गरेको छ । त्यस्तै लागुऔषध सेवनकर्ताहरुबाट प्रहरीले ६ शय १२ ट्याब्लेट नाइट्राभेट, २ शय २३ ट्याब्लेट स्मापो, ३५ हजार ४ शय ९ ट्याब्लेट ट्रमाडोल र ६ शय ७० ग्राम चरेस बरामद गरेको छ ।

प्रहरीले दुई जना महिलासहित ४२ जनालाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाएको छ । डिएसपी सिंहका अनुसार मुद्दा चलाइएकाहरु लागुपदार्थको कारोवारमा समेत संलग्न हुँदै आएका थिए । ‘हामीले यो अवधिमा ४२ जनालाई लागुऔषध सम्बन्धी मुद्दा नै चलाएका छौं’–डिएसपी सिंहले भने– ‘मुद्दा चलाइएकाहरु लागुऔषधको कारोवारमा समेत संलग्न हुँदै आएका थिए, जसमध्ये दुई जना महिला रहेका छन् ।’

ठूलो संख्यामा बालबालिका नै लागुपदार्थको दुव्र्यसनीमा फसेपछि प्रहरीले लागुऔषध दुव्र्यसनी विरुद्धको अभियान नै सञ्चालन गरिरहेको छ । प्रहरीले दैनिक ६ वटा मोटरसाइकलमा २४ घण्टे गस्ती, विभिन्न विद्यालयमा जनचेतनामूलक कार्यक्रम, भारतबाट लागुपदार्थ भित्रिने नाकामा चेकजाँचमा कडाई र विभिन्न टोलमा टोल सुरक्षा समिति गठन गरेको छ ।

‘लागुपदार्थ दुव्र्यसनीहरुको संख्या नियन्त्रणका लागि हामीले अभियान नै सञ्चालन गरेका छौं’–डिएसपी सिंहले भने–‘प्रत्येक विद्यालयमा जनचेतनामूलक कार्यक्रम, नियमित गस्ती, चेकजाँचमा कडाई र पक्राउ परेका बालबालिकाका अभिभावक समेतलाई राखेर कक्षा सञ्चालन गरेका छौं ।’

अभियान सञ्चालन गरेपश्चात् प्रयोगकर्ता घट्दै गएका छन् । डिएसपी सिंहले अभियानको सकारात्मक परिणामहरु आएको बताए । अध्ययन गर्ने उमेरका बालबालिकाहरु लागुपदार्थ दुव्र्यसनीमा फस्दै जानु समाजका लागि घातक हुने बाल इजलास समाजशास्त्री दिलाकुमारी जोशी रेग्मीले बताइन् । बालबालिका सम्बन्धि मुद्दाहरुमा पैरवी गर्दै आएकी समाजशास्त्री रेग्मीले भनिन् –‘ठूलो संख्यामा बालबालिकाहरु दुव्र्यसनीमा फस्नु समाजकै लागि घातक हो, समयमै सचेत नभए यसले भयावह रुप लिन सक्छ ।’

लागुपदार्थ नियन्त्रणका लागि सुरक्षाकर्मी, अभिभावक, स्थानीय सरकार, सरोकारावाला सबैले सशक्त अभियान नै थालनी गर्नुपर्ने बताउँदै रेग्मीले भनिन् ‘यो समाजका लागि ठूलो समस्या हो, त्यसैले सशक्त पहलकदमी हुन जरुरी छ ।’

परिवार नै लागुऔषध कारोवारी

कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ तारा शाहीको परिवार नै लागुपदार्थ कारोवारीमा संलग्न रहेको छ । इलाका प्रहरी कार्यालय लम्कीले गत माघ १९ गते ३४ वर्षीया शाहीलाई गुप्तांगमा लुकाई लिइरहेको २३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेसँगै परिवार नै लागुऔषध कारोवारीमा संलग्न रहेको पाइएको हो । शाहीका ६५ वर्षीया सासु जलादेवी शाही र उनका श्रीमान सुनिल सिंहलाई प्रहरीले लागुऔषध सम्बन्धी मुद्दा चलाएको छ ।

प्रहरीले २०७५ असार महिनामा ३१० मिलिग्राम ब्राउनसुगरसहित ६५ वर्षीय जलादेवी शाही र असोजमा लागुऔषध तौलिन प्रयोग गरिने डिजिटल तराजु, प्याकेजिङ्गका लागि तयार पारिएको पोकासहित सुनिल सिंहलाई पक्राउ गरेको थियो । ‘असारमा पक्राउ परेकी जलादेवी शाही तारा शाहीकी सासु पर्छिन्’–प्रहरी निरीक्षक जोशीले भने–‘सासु पक्राउ परेपछि बुहारीले लागुऔषधको कारोवार शुरु गरेकी थिइन् ।’प्रहरी निरीक्षक जोशीले भने–‘ताराका श्रीमान् सुनिल सिंह लागु औषधमा कारोवार गर्दै काठमाडौंबाट फरार रहेका अभियुक्त थिए हामीले पक्राउ गरेर लागुऔषध नियन्त्रण व्यूरो काठमाडौंमा पठाएका छौं ।’जोशीका अनुुसार शाहीको परिवार नै लागुऔषधको कारोवारमा संलग्न रहेको छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update