Hamro Patra
नगर प्रमुखका स्वकियले बाघ आयो भन्दै भिडियो हालेपछि....

टीकापुर, साउन २९
आज विहान १०ः ३५ बजे टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुका स्वकिय सचिव लोकबहादुर बुढाले आफ्नो फेसबुक (LB Budha ) मा एउटा पाटेबाघ उखुबारीबाट बाहिर आउँदै गरेको भिडियो पोष्ट गरे । 
दुई साता यता जंगली जनावर (चितुवा वा बाघ ?) को आक्रमणबाट २६ बाख्रा, त्यत्तिकै संख्यामा कुखुरा, कुकुर र बंगुर मरेको घटनाले आतंकित बनेका टीकापुरबासी उक्त पोष्टले थप त्रसित बने । केही मिनेटमै उनको भिडियो हजार बढीले हेरे । कतिपयले लाइक गरे भने कतिपयले कमेन्ट   गरे । 
घरपालुवा जनावर खाएर आतंक मच्चाएको जंगली जनावर नियन्त्रण लिन ठाउँ ठाउँमा पासो राखेको बेला नगर प्रमुखकै सचिवालयका स्वकिय सचिव बुढाले पाटेबाघ आएको पोष्ट गरेपछि स्थानीयबासी थप आतंकित बने । 
हेर्नुस् स्वकिय सचिव बुढाको फेसबुक पोष्ट

तत्काल उद्दार गर्न, सचेत रहन, सावधानी अपनाउन आग्रह गरिएका कमेन्टहरु आइरहँदा उक्त भिडियो बुढाले डिलिट गरे । नगरपालिकाको गाडी लिएर बाघ आयो भनिएको टीकापुर नगरपालिका वडा नं. १ स्थित गणेशपुर शिविरको उखुबारी क्षेत्र पुग्दा भिडियोमा देखिएको लोकेशन नै नमिलेपछि उक्त पोष्ट बुढाले डिलिट गरे ।

‘गणेशपुर शिविरका एकजनाले बाघ देखियो भन्दै मलाई भिडियो पठाए’ बुढाले हाम्रोपत्रसँग भने ‘आमनागरिकलाई सचेत गराउन भन्दै मैले फेसबुकमा पोष्ट गरेर गणेशपुर पुग्दा उक्त लोकेशन नै नमिलेपछि भिडियो डिलिट गरेको हुँ ।’

Khadga Memorial And Janajagriti

स्वकिय सचिव बुढाका अनुसार उक्त भिडियो पोष्ट गरेपछि डिभिजन वन कार्यालय पहलमानपुर, सुरक्षाकर्मी, प्रमुख जिल्ला अधिकारीसमेतलाई खबर गरिएको थियो । कसैले पठाएको भिडियोको तथ्य जाँच नगरेरै स्वकिय सचिव बुढाले भिडियो पोष्ट गरेपछि उनको सर्वत्र आलोचना भएको छ । बुढाले केहीबेर अघि उक्त भिडियो फेक भएको अर्को पोष्ट गरेका छन् । 

यो हेर्नुस् 

पाटेबाघ नै गणेशपुर शिविरमा आएको भन्दै फेक भिडियो स्वकिय सचिव बुढाले पोष्ट गरेपछि बुढालाई भिडियो पठाउने एकजना पक्राउ परेका   छन् । 
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले स्वकिय सचिव बुढालाई फेक भिडियो पठाएका गणेशपुर शिविरका रुपलाल विश्वकर्मालाई सोधपुछका लागि बोलाइएको बताए । ‘भिडियोको तथ्य जाँच नै नगरी पोष्ट भएर सर्वसाधारणमा त्रास फैलिएको छ’ डिएसपी अधिकारीले भने ‘भिडियोको वास्तविकता बुझ्न उनलाई सोधपुछका लागि बोलाएका छौं ।’

भिडियोको तथ्य जाँच गर्दा

बुढाले पोष्ट गरेको भिडियोमा उखुबारी देखिन्छ । उखुबारी गणेशपुर शिविरसँगै जोडिएको पनि छ । त्यहाँ देखिएको झुपडी र त्यो अग्लो रुख भने गणेशपुर आसपास देखिँदैन । बाघ दौडिएको बाटो समेत शिविरको होइन भन्ने प्रष्टै हुन्छ । हामीले उक्त भिडियोको अपलोड भएको तथ्यजाँच गरेका छौं । केही टुल्सहरु प्रयोग गर्दा सन् उक्त भिडियो २०१८–०३–२० तारेख ९ बजेर १४ मिनेटमा सामाजिक सञ्जालहरुमा अपलोड भएको देखिन्छ । भिडियोमा देखिएको लोकेशन, अपलोड भएको मिति आदिले उक्त भिडियो फेक हो अर्थात् टीकापुरको होइन भन्ने तथ्य साबित गर्छ ।

निष्कर्षः

एउटा उखान छ, ‘बाघ पसेका वर्ष बिरालो पनि बाघ झैं लाग्छ ।’ नगर प्रमुखको सचिवालय हेरिरहेका जिम्मेवार व्यक्तिले गरेको असावधानीपूर्ण पोष्टले आमसर्वसाधारणमा परेको प्रभाव कस्तो होला ? कुनै विषयवस्तु, फोटो, भिडियो आदि पोष्ट गर्नुपूर्व त्यसको तथ्य जाँच गरेर मात्रै पोष्ट र शेयर गर्नुपर्दछ भन्ने हेक्का राख्न जरुरी छ । 

सचेत गराउने नाममा गलत र भ्रामक सूचना सम्प्रेषण गर्नु असावधानी मात्रै नभएर गम्भीर अपराध (साइबर अपराध) पनि हो । तपाईको कुनै गलत पोष्टले सर्वसाधारणमा पर्ने प्रभाव, अझ बाघ नै देखेर बेहोस भएकाहरुलाई पर्ने प्रभावका बारेमा गम्भीर हुन आवश्यक छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update