Hamro Patra
लाखौंका बंगुर नष्ट भएपछि पलायन हुँदै बंगुरपालक किसान

टीकापुर, साउन २९
दक्षिणी सीमावर्ती मोहना नदीको किनार । हुलाकी सडकलाई कैलालीको पूरानो सदरमुकाम भजनी बजार जोड्ने बाटोको छेउमै छ, बडिमालिका कृषि प्रबद्र्धन केन्द्र प्रा.लि. ।

एक दशकदेखि बंगुरपालन गर्दै आएका भजनीका जयबहादुर बुढा बंगुरका लागि सुदूरपश्चिममै श्रोत व्यक्तिका रुपमा थिए । उनको फर्म ७० वटा वयस्क गर्भवती बंगुरसहित ४ शय ८२ बंगुरले भरिभराउ थियो । ५ जना सहयोगी सहित बंगुरको स्याहार सुसार गर्न, सरसफाई गर्न, बच्चा हुर्काउन हम्मेहम्मे हुने गर्दथ्यो बुढालाई । २०७९ साल कार्तिक पहिलो सातादेखि बुढाले नसोचेकै घटना हुन थाल्यो । 

दिनरात उनको फर्ममा रहेका बंगुर पटापट मर्न थाले । ‘बचेका बंगुरमा पनि उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, तुहिनेजस्ता लक्षण देखिन थाले’ बुढाले भने ‘कार्तिक १५ गतेदेखि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी र काठमाडौंको टोलीले परीक्षण गरेपछि मात्रै हामीले थाह पायौं, मेरो फर्मका बंगुरहरुमा अफ्रिकन स्वाइनफिवर रोग लागेको रहेछ ।’ 

Khadga Memorial And Janajagriti

४ शय ८२ बंगुरमध्ये फर्ममा बचेका ७० वटा बंगुर समेत रोग फैलिन नदिन भन्दै स्थानीय तहको रोहवरमा २०७९ को मंसिर १२ गते नष्ट गरेपछि रित्तिएको बुढाको फर्म हालसम्म रित्तै छ । 

‘वर्षभरिको मेहनत, लगानीबाट प्रतिफल आउने बेला खोर नै रित्तियो, त्यसयता मैले बंगुर पाल्ने हिम्मत गर्न सकेको छैन’ बुढाले भने ‘२ करोड बढीको बंगुर हुर्किदै गर्दा स्वाइन फिवरले स्वाह गरेपछि फेरि लगानी गरेर व्यवसाय शुरु गर्ने आँट पुगेको छैन ।’ भजनी नगरपालिकाको पशु सेवा शाखाले बुढाको उक्त फर्ममा ९५ लाख २० हजार रुपैयाँको क्षति भएको प्रतिवेदनसहित सिफारिस गरेको थियो । 

‘लगानी गरेर तयार गरेका खोरहरु दुई वर्षदेखि खाली छन्, बगुंर हाल्न मात्र हो, काम गरेको अनुभव राम्रै छ तर रोगकै कारण अझै आँट आएको छैन’ बुढाले भने ‘राज्यले किसान र व्यबसायीलाई ढाडस दिन नसक्दा बंगुरपालन व्यबसायीले पलायन हुनुपर्ने अवस्था आएको हो ।’

बुढाको उक्त फर्मको निरीक्षण गर्न तत्कालीन गृह सचिव विनोद प्रकाश सिंह, पशु सेवा विभाग काठमाडौंका डाक्टर मुकुल उपाध्याय, डाक्टर विनोद सञ्ज्याल र प्रदेश र संघीय सरकारका प्रतिनिधि पुगे पनि राहत र क्षतिपूर्ति दिनेतर्फ कसैले चासो नदिएको बुढाले बताए । 

पशुमा लाग्ने सरुवा रोगको उचित व्यवस्थापन हुन नसक्दा बुढा मात्रै होइन कैलालीका धेरै किसानहरु बंगुरपालन व्यवसायबाट पलायन भएका छन् । बंगुरमा देखा परेको महामारी स्वाइन फिभरका कारण बंगुरहरु मर्न थालेपछि व्यवसायीले पालनबाट पलायन भएका हुन् । 

दुई वर्षअघि देखा परेको उक्त रोग फेरि देखिने डरले व्यबसायीले बंगुरपालन शुरु गर्न सकेका छैनन् । स्थानीय तहमा किसान तथा समूहमा बनाएर बंगुरपालन गर्दै आएका साना व्यवसायीहरु समेत रोगको डरले पलायन भएका हुन् । बंगुरपालन व्यबसाय कम भएपछि कैलालीमा बंगुुरको मासु अभाव हुन थालेका छ । मासु अभाव भएकै कारण मूल्य चर्को रुपमा बढेको स्थानीय उपभोक्ताहरु बताउँछन् । 

चार वर्षदेखि बंगुरपालन गर्दै आएका जानकी गाउँपालिका वडा नं.१ दुर्गौलीका निकेत चौधरीले समेत व्यवसाय शुरु गर्न सकेको छैनन् । झण्डै १ करोडको लगानी गरेर बंगुरपालन शुरु गरेका चौधरीका स्वाइन फिभरबाट ४५ वटा बंगुर मरे ।  ‘७० वटा बंगुर अटाउने व्यबस्थित खोर यतिखेर त्यत्तिकै खाली छ । स्वाइन फिभरले ४५ बंगुर मरे’ उनले भने ‘बैंकबाट ऋण लिएर फेरि बंगुरपालनलाई शुरु गर्न सकेको छैन ।’

दुई वर्षअघि देखा परेको उक्त रोग फेरि देखिने डरले व्यबसायीले बंगुरपालन शुरु गर्न सकेका छैनन् । स्थानीय तहमा किसान तथा समूहमा बनाएर बंगुरपालन गर्दै आएका साना व्यवसायीहरु समेत रोगको डरले पलायन भएका हुन् । बंगुरपालन व्यबसाय कम भएपछि कैलालीमा बंगुुरको मासु अभाव हुन थालेका छ । मासु अभाव भएकै कारण मूल्य चर्को रुपमा बढेको स्थानीय उपभोक्ताहरु बताउँछन् । 

‘दुई वर्ष अघिसम्म २ शय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री हुने बंगुरको मासु हाल ५ शय प्रतिकेजीमा बिक्री भइरहेको छ’ टीकापुरमा बंगुरका मासु बिक्रेता राजकिरण चौधरीले भने ‘कैलालीमा बंगुर पाउनै छोडेको छ, हामीले यहाँ नपाएर दाङ र पहाडी जिल्लाबाट खरिद गरेर ल्याउन परेपछि मूल्य बढेको हो ।’

राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वय इकाइले समेत यस क्षेत्रका किसानलाई बंगुरपालनमा सहयोग गर्दै आएको थियो । रोगका कारण बंगुरपालनबाट किसानहरु पलायन हुन थालेपछि खोरहरु खाली रहेको कृषि कार्यक्रम कार्यान्वयन इकाइका पशु प्राविधिक पुष्पराज भारतीले बताउँछन् । 

‘महामारीले बंगुर पालक किसानका खोर नै खाली भएपछि किसानले यो पेशाबाट  नै पलायन हुने अवस्था आएको छ’ पशु प्राविधिक भारतीले भने ‘किसानले जोखिम मोल्न नसकेर यो व्यवसाय नियमित गर्न सकेका छैनन् ।’

केही वर्षयता, बंगुर, खसी, बोका, राँगाको मासुमा आत्मनिर्भर जिल्लाका रुपमा विकसित भइरहेको कैलालीमा रोगका कारण बंगुरको निर्यात रोकिएको छ । विगतका वर्षहरुमा यहाँबाट नेपालगञ्ज, बुटवल, पोखरा तथा काठमाडौं सम्म मासु निर्यात हुँदै आएको थियो । हाल भने अन्यत्र जिल्लाबाट बंगुरको मासु ल्याउनु पर्ने बाध्यता छ । 

बंगुर प्रजातिमा देखापर्ने स्वाइन फिभर रोगको नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट ठोस पहल हुन नसक्दा व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेका हुन् । केही वर्ष पहिला अमेरिका र चीनमा देखापरेको यो रोग नेपालका अन्य जिल्लामा समेत देखा परेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update