Hamro Patra
पाँच पालिकाका युवायुवतीलाई अनलाइन सेक्युरिटी गोष्ठी सुरु

टीकापुर, साउन २८
बाल कल्याण संघको आयोजनामा आजदेखी दुईदिने नेतृत्व विकास मञ्च कार्यक्रम अन्र्तगत अनलाईन सेक्युरिटी कार्यशाला गोष्ठी सुरु भएको छ । सो कार्यक्रममा कैलाली जिल्लाका टीकापुर, भजनी, घोडाघोडी, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकाका ५० भन्दा बढी युवायुवतीको सहभागिता रहेको छ । 

युवायुवतीहरुलाई अनलाईन सेक्युरिटीका बारेमा कविता वाहिङ राईले प्रशिक्षण दिने बताईएको छ । पछिल्लो समय प्रविधिको बढ्दो विकासले युवायुवतीले विभिन्न किसिमका दुर्घटना व्यहोर्नु परेका कारण यस्तो कार्यक्रम आयोजना गरेको बताईएको छ । 

Khadga Memorial And Janajagriti

गोष्ठीको सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य प्राडा जगतबहादुर सिँह रावलले उद्घाटन गरेका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रावलले प्रविधिको तिब्र विकासले जोखिम बढेको बताए । 
उनले प्रविधिको प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी नभएका कारण यस्तो जोखिम बढेको बताएका छन । उनले प्रविधिलाई प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेमा जोड दिए । ‘सदुपयोग गर्ने कि दुरुपयोग गर्ने हामी सोच्नुपर्छ’ उनले भने–‘यदि दुरुपयोग भयो भने दुर्घटना हुन जान्छ ।’

उनले सुदूरपश्चिम प्रदेशले बालबालिकाको वृद्धि विकासका योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे । उनले बालबालिकाका क्षेत्रमा अहिले गरेको लगानीले नै भोलि परिणाम दिने भन्दै सुदूरपश्चिम प्रदेश यस कुरामा गम्भिर रहेको बताए । 

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले प्रविधिको दुरुपयोगका घटनाले व्यक्ति स्वयम्लाई गम्भिर क्षति हुने गरेको बताए । उनले युवावस्थामा सोच बिचार नगर्ने हो भने भोलिका दिनमा पछुताउनु पर्ने अवस्था आउने भन्दै प्रविधिको दुरुपयोग गर्ने तर्फ नलाग्न सुझाव दिएका छन । 

‘यो उमेर अस्थिर हुन्छ । प्राय गल्ती कमि कमजोरी हुने उमेर पनि यही हो’ उनले भने–‘भोलि पछुतो हुने गरी कुनै काम गर्न हुँदैन ।’

बाल कल्याण संघका अध्यक्ष धनबहादुर विकको सभाध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यका बारेमा जानकारीका साथै स्वागत वल्र्ड भिजनका फोकल पर्सन मंगल शाहले व्यक्त गरेका थिए । उनले प्रतिनिधिमूलक रुपमा युवायुवतीको छनौट गरिएको जानकारी दिए । उनले सहभागीहरुले सिकेका कुरा समुदायमा साथी र अभिभावकलाई सिकाउनु पर्ने बताए । 

उनले सहभागीले सिकेका कुरा समुदायमा अरुलाई सिकाउन सके मात्रै कार्यक्रमको उद्देश्य प्राप्त हुने बताए । वल्र्ड भिजनको आर्थिक सहयोगमा बाल कल्याण संघले युवायुवती लक्षित यस्ता थुप्रै कार्यक्रम आयोजना गर्ने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update