Hamro Patra
दुई सातामै २६ बाख्रा मारिएः तीन वर्षमा तीनजनाले गुमाए ज्यान

टीकापुर, साउन २७
२०८१ बैशाख पहिलो सातादेखि नै बर्दिया राष्ट्रिय निकुञ्जमा भिषण आगलागी भयो । निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाले समेत नियन्त्रण लिन नसकेपछि झण्डै महिना दिनसम्मै निकुञ्जमा आगो दन्कियो ।

चर्को गर्मीमा पानीको अभाव र बासस्थानमा दन्किएको आगोका कारण जंगली जनावरहरु सुरक्षित स्थानको खोजीमा लागे । आगो नलागेको, पानी पर्याप्त भएको क्षेत्रमा निकुञ्जसँगै जोडिएको गाउँबस्तीतर्फ पस्न थाले, जंगली जनावरहरु बाघ, हात्ती, चितुवा, हरिण आदि ।  त्यसरी गाउँबस्ती पसेका बाघ, चितुवा र हात्तीका कारण कैलालीको पूर्वी क्षेत्रमा जंगली जनावरको त्रास बढ्दै गएको छ । 

जंगली जनावर चितुवाले एक साता यता कैलालीको टीकापुरमा घरपालुवा जनावर बाख्रा, कुखुरा मार्न थालेपछि स्थानीयमा त्रास बढेको हो । गत सातादेखि चितुवाले टीकापुरका विभिन्न स्थानमा दैनिक बाख्रा, कुखुरा र कुकुरमा मार्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । 

Khadga Memorial And Janajagriti

बिहीवार राति समेत चितुवाले स्थानीयका बाख्रा र कुखुरा मारेको टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहनसिंह लुहार (वि.क.)ले जानकारी दिए । ‘चितुवाले वडा नं १ ब्लक बी, सी, १७ र १८ मा गरी एकै सातामा स्थानीयका २६ बाख्रा मारेको छ भने केही बाख्राहरु घाइते बनाएको छ’ अध्यक्ष लुहारले भने ‘त्यत्तिकै संख्यामा कुखुरा र कुकुर समेत मारेपछि हामीहरु त्रसित बनेका छौं ।’

चितुवाले बिहीवार राति ब्लक नं. १७ मा रहेको मिनबहादुर नेपालीको खोरबाट २६ वटा कुखुरा मारेको छ । चितुवाले कुखुराकै खोरमा आक्रमण गरेपछि स्थानीयले होहल्ला गर्दा दुई बच्चासहितको चितुवा भागेको रमेश खड्काले बताए । 

गए राति नै ब्लक नं. १८ मा समेत चितुवाको आक्रमणबाट एक बाख्रा घाइते भएको थियो । स्थानीय नर परियारले बुधवार राति ११ बजे बाख्रा कराएपछि आफूले होहल्ला गर्दा छिमेकीको बाख्रा घाइते अवस्थामै छोडेर चितुवा भागेको बताए । 

‘एक हप्ता भयो, ब्लक नं. १७/१८ तिरै बाख्रा, कुखुरा मारिरहेको छ’ परिवारले भने ‘गएराति समेत एक छिमेकीको घरबाट बाख्रा लिँदै गरेको थाह पाएपछि दुई बच्चा सहितको चितुवा भागेछ, यो घटनाले निकै त्रास फैलिएको छ ।’ 

बर्दिया राष्ट्रिय निकुञ्जमा आगलागी हुनु, चैत्रदेखि जेठसम्म पर्याप्त मात्रामा जंगली जनावरलाई पानीको व्यवस्था नहुनुले पनि जंगली जनावरहरु बस्तीतर्फ पसेर आतंक मच्चाई रहेका छन् । 

२०६४ सालमा कर्णाली नदीमा आएको भीषण बाढीले नदीको धार परिवर्तन गरिदियो । बर्दिया राष्ट्रिय निकुञ्ज छेउ हुँदै बग्ने कर्णाली नदीको सहायक नदी गेरुवा नदीमा पानीको सतह निक्कै घट्यो । कर्णाली नदीको पानी पश्चिम कैलालीतर्फ बग्न थाल्यो । यस वर्षमात्रै गेरुवा नदीमा पानी फर्काउन निकुञ्जले चिसापानी पुलबाट दक्षिणतर्फ स्काइभेटर प्रयोग गरेर पानीको मुहान खोलेको थियो । 

‘वनजन्तुको लागि सुरक्षित मानिने निकुञ्जमै आगजनी हुनुले आहारको कमी हुने नै भयो, त्यसमा पानी समेत नभएपछि जंगली जनावरहरु बस्तीतर्फ पस्ने गरेका छन्’ वन, वातावरण तथा विपद् व्यवस्थापनमा लामो समय काम गरेका टीकापुर नगरपालिका वडा नं. ६ का अध्यक्ष बलिराम चौधरीले भने ‘जनावरहरुको बासस्थान मासिनु, आहारको कमी हुनुले पर्यावरण पनि मासिएको छ भने जनावर र मानवबीच द्वन्द्व बढ्दै गएको छ ।’

बढ्दै जंगली जनावरको आक्रमण

बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको कर्णाली नदी किनारमा अवस्थित सामुदायिक वनमा विगत केही वर्ष यता जङ्गली जनावरको आक्रमणमा परेर वर्षेनी कसै न कसैले ज्यान गुमाउनु परेको छ । २०८० चैत २७ गते जङ्गली हात्तीको बथानको आक्रमणबाट टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १५ की जसुदा बटालाको ज्यान गयो । गाईबस्तुलाई घाँस काट्न सामुदायिन वनमा गएकी उनी जङ्गली हात्तीको सिकार भइन । 

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत २०७९ असार ५ गते जङ्गली हात्तीकै आक्रमणबाट टीकापुर नगरपालिका वडा नं. १ की ५० वर्षीया टंक सोडारीको घटनास्थलमै ज्यान गएको थियो । उनलाई सनकट्टीघाटबाट घर फर्किने क्रममा हात्तीको बथानले आक्रमण गरेको थियो । 

त्यस्तै टीकापुर नगरपालिका वडा नं. १ का ६० वर्षीय मन्सुराम चौधरीको २०७७ चैत्र २१ गते जङ्गली हात्तीले नै ज्यान लियो । जानकी गाउँपालिका वडा नं. ६ स्थित जङ्गलमा गएका उनलाई हात्तीले आक्रमण गरेको थियो ।

केही व्यक्तिहरू जङ्गली जनावरको आक्रमणमा परेर घाइते समेत भएका छन् । २०७९ मङ्सिर ८ गते टीकापुर भुराखानी सामुदायिक वनमा घाँस काट्न गएकी ढुन्की कठायत चितुवाको आक्रमणबाट घाइते भइन् । २०७९ चैत २४ गते टीकापुर नगरपालिका वडा नं. ८ श्रीलङ्काका २७ वर्षीय पवन आउजी चितुवाको आक्रमणबाट घाइते भए ।

चार वर्ष अघि चितुवा दिउँसै टीकापुर बजार क्षेत्रमै पसेर स्थानीयलाई आक्रमण ग¥यो । चितुवाको आक्रमणमा परेर ट्राफिक प्रहरी देवीराम धिताल घाइते भए । त्यो भन्दा केही वर्ष पहिले बसपार्क क्षेत्रमा जङ्गली गैँडा देखिएको थियो । गैँडाले आक्रमण गर्दा टीकापुर नगरपालिका वडा नं. ३ रामपुरमा एक व्यक्ति घाइते भएका थिए ।

२०८० जेठको महिनामा टीकापुर नगरपालिका वडा नं. २ विजयनगरको बस्ती नजिकै डमरुसहितको पाटेबाघ देखा प¥यो । २०७९ असार महिनामा विश्वमै दुर्लभ मानिने पाटेबाघ टीकापुर नगरपालिका वडा नं. २ स्थित जनशक्ति सामुदायिक वन भित्र मृत अवस्थामा फेला परेको थियो ।

यी त केही प्रतिनिधि घटनाहरू मात्र हुन् । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा वर्षेनी जङ्गली जनावरको आक्रमण बढ्दै गएको छ । निकुञ्जबाट कर्णाली नदी तर्दै सजिलै हात्ती, बाघ, चितुवा जस्ता जङ्गली जनावरहरू बस्तीमै पसेर आक्रमण गर्न थालेका हुन् ।

निकुञ्जलाई कर्णाली नदीले छुट्टाएको छ । नदीको कैलाली किनारतर्फ रहेका दर्जन बढी सामुदायिक वनमा निकुञ्जबाट आउने जङ्गली जनावरहरू बस्तीमा पस्ने गरेका छन् ।

कर्णाली जैविक मार्गमा पर्ने कर्णाली नदीमा सत्ती कर्णाली, भगरैया, साइपुर, भैरवनाथ, खोटेना भुराखानी, रानी कर्णाली, शीतल, जनशक्ति, कैलाशेश्वर, जगतपुर, शिवशक्ति, कालिका, छतिवन, ऐश्वर्य र महिला लगायत सामुदायिक वनहरू छन् । यी वनहरूमा बाघ, हात्ती, चितुवा जस्ता जनावरहरू नभए पनि निकुञ्जबाट आउने जनावरहरू बस्ती क्षेत्रमा प्रवेश गरेर दुःख दिने गरेको शिलत सामुदायिक वनका अध्यक्ष सिद्धराज ठकुल्लाले बताए ।

उनले निकुञ्जसँगै जोडिएको टीकापुर क्षेत्रमा हुने वन्यजन्तुको प्रभावबारे निकुञ्जले ध्यान दिनुपर्ने बताए । ‘निकुञ्जबाट आएर जनावरले क्षति गर्ने, त्यसको न्यूनिकरणका लागि निकुञ्ज जिम्मेवार नहुनुले समस्या निम्त्याएको छ’ उनले भने ‘स्थानीय सरकार, निकुञ्ज र सामुदायिक वनको सहकार्य आवश्यक छ ।’

बर्दिया राष्ट्रिय निकुञ्जमा सन् २०२२ मा गरिएको बाघ गणना अनुसार १ शय २५ बाघहरू छन् । देशभर ३ शय ५५ बाघ छन् । विभिन्न अध्ययन अनुसार निकुञ्जमा १ शय २० देखि ५० सम्म जङ्गली हात्तीहरु रहेका छन् ।

चितुवा नियन्त्रण लिने प्रयास

दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली दुई दिनदेखि टीकापुरमा परिचालित छ । 

बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, इलाका प्रहरी कार्यालय टीकापुर र नगर प्रहरीलगायत टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको छ । चितुवा खोज्न विभिन्न स्थानमा टोली समेत परिचालन गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए । ‘स्थानीयले तीन चितुवा देखेको बताएका छन्, हामी चितुवा नियन्त्रणको प्रयासमा दुई दिनदेखि लागिरहेका छौं’ प्राविधिक थारुले भने । 

चितुवाले दैनिक आतंक मच्चाउन थालेपछि इलाका प्रशासन कार्यालय, नगरपालिका, इलाका प्रहरी र राजनीतिक दलको उपस्थितिमा निकुञ्ज र कोषको टोलीले थप पासोहरु राख्ने निर्णय गरेको छ । 

‘दिनमा ड्रोन क्यामेराको सहायतले चितुवाको खोजी गर्ने निर्णय भएको छ’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी अधिकारीले भने ‘हिजो स्थानीय वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयको जग्गामा रहेको उखुबारी र केराबारी नजिक पासो थापिएको थियो, आज थप दुई वटा पासो थप्ने निर्णय भएको छ ।’ 

चितुवाको आक्रमणबाट बच्न शुक्रवारदेखि नगरपालिकाले माइकिङ गरिरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट कर्णाली नदी तरेर बच्चा सहितको चितुवा वडा नं. २ मा रहेका सामुदायिक वन हुँदै बजार क्षेत्रमा पसेको आशङ्का गरिएको छ । 

बजार क्षेत्रमा मात्र नभएर चितुवाले टीकापुरको वडा नं. ७ र ८ मा समेत आतङ्क मच्चाएको छ । त्यहाँ पनि चितुवाले दैनिक बाख्रा, घरपालुवा कुकुर र भैँसी मार्न थालेको वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । 

‘दुई साता अघि मात्रै घरमा रहेको खोरमा पसेर चितुवाले बाख्रा र कुकुर मारेका हो’ अध्यक्ष ठकुल्लाले भने ‘घरमै पसेर आतंक मच्चाउन थालेपछि मान्छेलाई नै आक्रमण गर्ने हो कि भन्ने त्रास स्थानीयमा छ, हामी यसको नियन्त्रणका लागि पहल गरिरहेका छौं ।’

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update