Hamro Patra
साधारण सभाका पार्षद्को मागलाई बेवास्ता गर्दै ‘माइन्युट क्लोज’

टीकापुर, साउन २७
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौं वार्षिक साधारण सभाका पार्षदहरुले उठाएका मागलाई बेवास्ता गर्दै सभाको माइन्युट क्लोजिङ गरिएको छ । 

साधारण सभाको बन्द सत्रमा खानेपानीमा भएको पेश्की सम्बन्धमा छानबिन गर्न समिति गठन गर्नुपर्ने माग सभाका पार्षद्हरुले राखे पनि कार्यसमितिले उक्त मागको बेवास्ता गर्दै माइन्युट क्लोज गरेको हो । 

संस्थाका कार्यवाहक अध्यक्ष सिर्जना शर्मा पण्डितले साधारण सभाको बन्द सत्रमा पार्षद्हरुले उठाएको माग सम्बोधन गर्न मौखिक सहमति भए पनि साधारण सभाको बन्दसत्रमा उक्त विषय उल्लेख नगरी माइन्युट क्लोजिङ गरिएको बताइन् । 

Khadga Memorial And Janajagriti

‘म कार्यवाहक अध्यक्ष हुँ, हामीले छानविन समिति बनाउन मिल्छ कि मिल्दैन ? भन्ने विषयमा संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष र सल्लाहकारहरुसँग छलफल गरेर आवश्यक परे बनाउला भनिएको हो’ कार्यवाहक अध्यक्ष पण्डितले भनिन् ‘साधारण सभाको माइन्युटमा उक्त विषय लिखित भएको छैन, हलबाट छानिएका दुई जना पार्षद्ले हस्ताक्षर गरेर माइन्युट क्लोज गरिसकेका छौं ।’

संस्थाको साधारण सभाको उद्घाटन सत्रका वक्ताहरुले समेत टीकापुर खानेपानीमा कार्यसमितिका सदस्यलाई नगद पेश्की दिएको, पदाधिकारीहरु मनोमानी ढंगले अघि बढेको जस्ता आरोप लागेका थिए । 

वक्ताहरुले कार्य समितिका सचिव मनिष बलायरका नाममा ७ लाख र सदस्य नवराज ठकुल्लाका नाममा ८१ हजार रुपैयाँ रहेको पेश्कीका बारेमा समेत आलोचना गरेका थिए । जुन कुरा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनमा समेत उल्लेख छ । 

वक्ताहरुले कार्य समितिका नाममा पेश्की लिन नपाईने बताए । कतिपयले विगतका कार्य समितिका पदाधिकारीहरुले समेत मनोमानी ढंगले खर्च गर्नुका साथै पेश्की लगेर फिर्ता नगरेको आरोप लगाएका थिए । 

संस्थाभित्र भइरहेका आर्थिक अनियमितताका बारेमा छानविन गर्न पार्षद्हरुले एक समिति बनाउनु पर्ने, विधान संशोधन गर्नुपर्ने, खानेपानीको शुल्क वृद्धिको स्पष्ट जवाफ दिन माग गरेका थिए । 

संस्थाको सर्वोच्च निकाय मानिने साधारण सभाका पार्षद्हरुले उठाएको मुद्दालाई बेवास्ता गर्दै माइन्युट क्लोज गरिएपछि खानेपानी संस्थाको थप आलोचना शुरु भएको छ । 

एक उपभोक्ताले भने ‘आर्थिक प्रतिवेदनमै पदाधिकारी र सदस्यलाई पेश्की दिएको कुरा उल्लेख छ, यसमा छानबिन समिति बनाएर आवश्यक कारवाही गर्न पार्षदले माग गरेका थिए तर कार्यसमिति फेरि पनि मनोमानी ढंगले माइन्युट बन्द गरेछ ।’

‘स्थानीयहरुको ठूलो सहयोगले छोटो अवधिमा निर्माण सम्पन्न भएर २४ घण्टा शुद्ध खानेपानी वितरण गरिरहेको संस्थामा मनोमानी हुनु कुनै पनि दृष्टिकोणले राम्रो होइन’ एक उपभोक्ताले भने ‘आर्थिक प्रतिवेदनमै पदाधिकारी र सदस्यलाई पेश्की दिएको कुरा उल्लेख छ, यसमा छानबिन समिति बनाएर आवश्यक कारवाही गर्न पार्षदले माग गरेका थिए तर कार्यसमिति फेरि पनि मनोमानी ढंगले माइन्युट बन्द गरेछ ।’

संस्था नीति नियमअनुसार चल्न नसकेको बताउँदै कार्यसमिति जिम्मेवार नभएको टिप्पणी हुन थालेको छ । 

हिजो सम्पन्न बन्द सत्रमा कोषाध्यक्ष विश्राम थारुले आव २०८०/०८१ को ३ करोड ५५ लाख ८८ हजार ९७५ रुपैयाँ ३६ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका छन । जसमा २४ लाख ८० हजा ४७० रुपैयाँ १४ पैसा आम्दानी भएको उल्लेख छ । 

संस्थाको आयतर्फ पानी महशुलबाट २ करोड ३४ लाख १ हजार ६९९, धारा जडानबाट ६६ लाख ५६ हजार १००, मर्मत तथा बिक्रीबाट ८ लाख ५० हजार ४३८  र बैंक ब्याजबाट ६ लाख २३ हजार ९०१ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै १६ लाख ७४ हजार ६०० रुपैयाँ अनुदान प्राप्त गरेको संस्थाले क्षतिपूर्तीबाट २३ लाख ५७ हजार २३७ र प्रायोजन वाफत २५ हजार आम्दानी गरेको छ । क्षतिपूर्ती भनेको निर्माणका क्रममा पाईप टुटेपछि निर्माण कम्पनीबाट तिराईएको रकम हो । 

संस्थाले आम्दानीबाट ६४ लाख १९ हजार ४९७ रुपैयाँ ७३ पैसा नगर विकास कोषलाई सावा र ७० लाख ५८ हजार ९९७ रुपैयाँ ६३ पैसा ब्याज रकम भुक्तानी गरेको छ । संस्थाले अब कोषलाई १३ करोड ६७ लाख ३२ हजार ७४४ रुपैयाँ ५५ पैसा तिर्न बाँकी रहेको छ । 

यो संस्था ७० प्रतिशत नेपाल सरकारको अनुदान, ५ प्रतिशत उपभोक्ताको लागत र २५ प्रतिशत नगर विकास कोषको ऋण लगानीमा २०६७ सालमा स्थापना भएको हो ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update