Hamro Patra
खानेपानी संस्था प्रति उपभोक्ताका प्रश्नै प्रश्न 

टीकापुर, साउन २६
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आठौं वार्षिक साधारण सभाको उद्घाटन आज सम्पन्न भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष सिर्जना शर्मा पण्डितको अध्यक्षतामा भएको उद्घाटन समारोहको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनार रहेकी थिईन । 

साधारण सभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सुनारले शुद्ध पिउने पानी पाउनु नागरिकको अधिकार र उपलब्ध गराउनु राज्यको दायित्व भएको बताईन । उनले पानी बिना जिन्दगानी सम्भव नभएको बताईन । 

‘पानी बिना हामी कोही बाँच्न सक्दैनौं’ उनले भनिन्–‘यो हरेक प्राणीका लागि आवश्यक कुरो हो ।’

Khadga Memorial And Janajagriti

उनले संस्था प्रति धेरै व्यक्तिहरुको चासो र चिन्ता रहेको बताउँदै संस्था विधि विधान बमोजिम अघि बढ्नु पर्नेमा जोड दिईन । उनले संस्था सञ्चालनका बारेमा स्थानीय सरकारले समेत निगरानी राख्नुपर्ने बताईन । 

सो अवसरमा संविधान सभा सदस्य हरि ज्ञवालीले खानेपानी संस्था टीकापुरबासीको साझा सम्पत्ति भएको बताए । उनले यसको स्थापना नै सामुहिक भावनाबाट भएको बताउँदै संस्थाको स्थापनाको इतिहास नबिर्सन आग्रह गरे । 

उनले संस्था भित्र केही विकृती भित्रिएको पाईएको बताउँदै व्यक्तिगत ऋण सापटका लागि संस्था स्थापना नभएको बताए । ‘यो बडो दुःख गरेर स्थापना गरिएको संस्था हो’ उनले भने–‘साथीहरुले कुरा बुझ्नु पर्छ कि कसै व्यक्तिले ऋण सापटी लिनका लागि हैन ।’

पूर्वराज्यमन्त्री चन्द्रसिँह भट्टराईले विरोधाभाष कुरालाई निराकरण गरेर अघि बढ्नुपर्ने बताए । उनले संस्थाले सदैव शुद्ध पिउने पानी प्रति जिम्मेवार रहनुपर्ने बताए ।

टीकापुर नगरपालिकाका पूर्वप्रमुख तपेन्द्रबहादुर रावलले कार्य समितिले अधिकार प्रत्यायोजन गरेर सबैको उत्तिकै सहभागीतामा जोड दिनुपर्ने बताए । उनले सबै अधिकार आफूमा राखेर कार्य समिति निरंकुश बन्ने कुरालाई विधि सम्वत ढंगले सच्याईनु पर्छ । 

समारोहमा पार्टीका प्रतिनिधिहरुले संस्थाका कमि कमजोरी बारे बोलेका थिए । उनीहरुले कार्य समितिका केही पदाधिकारी मनोमानी ढंगले अघि बढेको आरोप लगाए । 

कार्य समितिका सचिव मनिष बलायरका नाममा ७ लाख र सदस्य नवराज ठकुल्लाका नाममा ८१ हजार रुपैयाँ रहेको पेश्कीका बारेमा समेत वक्ताहरुले आलोचना गरेका छन । जुन कुरा आव २०८०÷०८१ को वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

वक्ताहरुले कार्य समितिका नाममा पेश्की लिन नपाईने बताए । कतिपयले विगतका कार्य समितिका पदाधिकारीहरुले समेत मनोमानी ढंगले खर्च गर्नुका साथै पेश्की लगेर फिर्ता नगरेको आरोप लगाएका छन । 

कार्यवाहक अध्यक्ष पण्डितले विगतका पेश्कीका बारेमा आफूलाई जानकारी नभएको बताईन । उनले वर्तमान कार्य समितिका सचिव बलायर र सदस्य ठकुल्लाका नामको पेश्की खरिद प्रकृया अन्र्तगत लगिएको बताईन । उनले सचिवका नामको पेश्की फिर्ता गर्न ताकेता गरिएको र चाँडै फिर्ता हुने बताईन । 

‘सामान खरिद गर्नका लागि खरिद समिति गठन गरेर पेश्की लगिएको हो’ उनले भनिन्–‘सामान खरिद गर्न परेन । चाँडै असुल हुन्छ ।’

उद्घाटन समारोह पछि बन्द सत्रमा कोषाध्यक्ष विश्राम थारुले आव २०८०÷०८१ को ३ करोड ५५ लाख ८८ हजार ९७५ रुपैयाँ ३६ पैसा बराबरको आयव्यय प्रस्तुत गरेका छन । जसमा २४ लाख ८० हजा ४७० रुपैयाँ १४ पैसा आम्दानी भएको उल्लेख छ । 

संस्थाको आय तर्फ पानी महशुलबाट २ करोड ३४ लाख १ हजार ६९९, धारा जडानबाट ६६ लाख ५६ हजार १००, मर्मत तथा बिक्रीबाट ८ लाख ५० हजार ४३८  र बैंक ब्याजबाट ६ लाख २३ हजार ९०१ रुपैयाँ ३६ पैसा रहेको छ । त्यस्तै १६ लाख ७४ हजार ६०० रुपैयाँ अनुदान प्राप्त गरेको संस्थाले क्षतिपूर्तीबाट २३ लाख ५७ हजार २३७ र प्रायोजन वाफत २५ हजार आम्दानी गरेको छ । क्षतिपूर्ती भनेको निर्माणका क्रममा पाईप टुटेपछि निर्माण कम्पनीबाट तिराईएको रकम हो । 

संस्थाले आम्दानीबाट ६४ लाख १९ हजार ४९७ रुपैयाँ ७३ पैसा नगर विकास कोषलाई सावा र ७० लाख ५८ हजार ९९७ रुपैयाँ ६३ पैसा ब्याज रकम भुक्तानी गरेको छ । संस्थाले अब कोषलाई १३ करोड ६७ लाख ३२ हजार ७४४ रुपैयाँ ५५ पैसा तिर्न बाँकी रहेको छ । 

यो संस्था ७० प्रतिशत नेपाल सरकारको अनुदान, ५ प्रतिशत उपभोक्ताको लागत र २५ प्रतिशत नगर विकास कोषको ऋण लगानीमा २०६७ सालमा स्थापना भएको हो । 

दुई व्यक्ति सम्मानित 
संस्थाले उत्कृष्ठ कर्मचारीका रुपमा मिटर रिडर गौरी पण्डितलाई सम्मान गरेको छ भने एसईई परिक्षामा उत्कृष्ठ नम्बर ल्याउने बिरेन्द्र विद्या मन्दिरका विद्यार्थी हेमन्त साउँदलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सुनारले दुवै जनालाई दोसल्ला र कदर पत्र सहित सम्मान गरेकी छन । 
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update