Hamro Patra
बिजयसाल संरक्षणमा जुट्दै स्थानीय

गोदावरी, साउन २६
पछिल्लो समय बहुउपयोगी वनस्पतिका रूपमा रहेको बिजयसालको संरक्षणमा स्थानीय जुट्न थालेका छन् । चुरे शृङ्खलाको फेद र भावर क्षेत्रमा पाइने बिजयसाल जनचेतना अभावका कारण घाँस, दाउराका रूपमा प्रयोग हुँदै जान थालेपछि यसको संरक्षण गर्न स्थानीयले पहल थालेका हुन् ।

कैलालीको चुरे गाउँपालिका वडा नं. ४ बाजुरगाडास्थित समैजी सामुदायिक वन क्षेत्रमा बिजयसाल पाइने जनाउँदै स्थानीयलाई यसको महत्व बुझाएर संरक्षण अभियान थालिएको सामुदायिक वनका अध्यक्ष हेमबहादुर विष्टले बताए । 

Khadga Memorial And Janajagriti

उनका अनुसार वन क्षेत्रको चार दशमलव पाँच हेक्टर क्षेत्रफलमा रहेको बिजयसालको संरक्षण गर्ने उद्देश्यले घाँस, दाउराका रूपमा प्रयोग गर्न रोग लगाइएको हो । 

अध्यक्ष विष्टले सामुदायिक वन क्षेत्रमा रहेको बिजयसालको संरक्षण थालिएको बताउँदै वन क्षेत्र बाहिर संरक्षण गर्न नसकिएको उल्लेख गरे । वन क्षेत्र बाहिर रहेका सरुवा संरक्षणमा स्थानीयलाई सहभागी गराउन छलफल गरी यसको महत्त्व बुझाएर अगाडि बढ्ने उनको भनाइ छ । बिजयसालको भाँडामा राखिएको पानी पिउँदा पेटसम्बन्धी विभिन्न रोग, मधुमेह, कमलपित्त, उच्च रक्तचाप, पिसाब पोल्ने र हाडजोर्नी दुख्ने समस्या केही मात्रामा समाधान गर्न सकिने स्वास्थ्यकर्मी बताउँछन् । 

बिजयसालका भाँडामा सधैँ पानी राख्दा माथिल्लो भाग निलो, बिचको भाग रातो र पिँधको भागको रङ पहेँलो देखिने गर्दछ । यसको बिजयसालको बोक्रा, खोटो र कलिला पातबाट निकालिएको रस औषधिका रूपमा प्रयोग गरिने स्थानीय प्रेम मगरले बताए । साथै काठबाट गाग्री, ठेकी, कचौरा, गिलास, लोटालगायत सामग्री बनाउन सकिने उनले जानकारी दिए ।

डिभिजन वन कार्यालय धनगढीका अनुसार जिल्लामा कूल ६० प्रतिशत बिजयसाल समैजी सामुदायिक वन क्षेत्रमा पर्दछ । लोप हुने अवस्थामा पुगेको बहुउपयोगी वनस्पति बिजयसाल संरक्षणका लागि डिभिजन वनले योजना बनाएर कार्यान्वयन गर्न सरोकार भएकासँग छलफल गरिरहेको डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले बताए । स्थानीयलाई जनचेतना जगाएर यसको महत्त्व बुझाउनुपर्ने भन्दै उनले खाली स्थानमा थप बिरुवा रोप्ने विषयमा पनि छलफल गरी काम गर्ने तयारी भइरहेको बताए । 
रासस

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update