Hamro Patra
गएराति समेत चितुवाको आक्रमणबाट बाख्रा घाइतेः २६ कुखुरा मरे

टीकापुर, साउन २५
जंगली जनावर चितुवाले एक साता यता घरपालुवा जनावर बाख्रा, कुखुरा मार्न थालेपछि कैलालीको टीकापुरमा त्रास बढेको छ । गत सातादेखि चितुवाले टीकापुरका विभिन्न स्थानमा दैनिक बाख्रा, कुखुरा र कुकुरमा मार्न थालेपछि स्थानीयमा त्रास बढेको हो । 

गए राति समेत चितुवाले स्थानीयका बाख्रा र कुखुरा मारेको टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहनसिंह लुहार (वि.क.)ले जानकारी दिए । चितुवाले टीकापुर नगरपालिकाको वडा नं १ ब्लक बी, सी, १७ र १८ मा गरी एकै सातामा स्थानीयका २२ बाख्रा मारेको छ भने केही बाख्राहरु घाइते भएका छन् । त्यत्तिकै संख्यामा कुखुरा र कुकुर समेत मारेको स्थानीयहरु बताउँछन् । 

चितुवाले गए राति ब्लक नं. १७ मा रहेको मिनबहादुर नेपालीको खोरबाट २६ वटा कुखुरा मारेको छ । चितुवाले कुखुराकै खोरमा आक्रमण गरेपछि स्थानीय होहल्ला गर्दा दुई बच्चासहितको चितुवा भागेको स्थानीय रमेश खड्काले बताए । 

Khadga Memorial And Janajagriti

गए राति नै ब्लक नं. १८ मा समेत चितुवाको आक्रमणबाट एक बाख्रा घाइते भएको थियो । स्थानीय नर परियारले बुधवार राति ११ बजे बाख्रा कराएपछि आफूले होहल्ला गर्दा छिमेकीको बाख्रा घाइते अवस्थामै छोडेर चितुवा भागेको बताए । 

‘एक हप्ता भयो, ब्लक नं. १७÷१८ तिरै बाख्रा, कुखुरा मारिरहेको छ’ परिवारले भने ‘गएराति समेत एक छिमेकीको घरबाट बाख्रा लिँदै गरेको थाह पाएपछि दुई बच्चा सहितको चितुवा भागेछ, यो घटनाले निकै त्रास फैलिएको छ ।’ 

चितुवाले दैनिक जसो घरमै पसेर बाख्रा मारेपछि स्थानीयहरुमा त्रास फैलिएको छ । दैनिक बाख्रा मार्न थालेपछि टीकापुर नगरपालिकाको अनुरोधमा बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोली दुई दिनदेखि टीकापुरमा परिचालित छ । 

बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु प्राविधिक जगनारायण चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारू, करारु चौधरी, इलाका प्रहरी कार्यालय टीकापुर र नगर प्रहरीलगायत टोलीले चितुवा नियन्त्रणको प्रयास गरिरहेको छ । चितुवा खोज्न विभिन्न स्थानमा टोली समेत परिचालन गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक फिरुलाल थारूले चितुवा नियन्त्रणमा लिन पासो थापिएको जानकारी दिए । ढिलोचाँडो चितुवा नियन्त्रणमा आउने उल्लेख गर्दै उनले स्थानीयलाई नआत्तिन र सचेत रहन आग्रह गरे । ‘स्थानीयले तीन चितुवा देखेको बताएका छन्, हामी चितुवा नियन्त्रणको प्रयासमा दुई दिनदेखि लागिरहेका छौं’ प्राविधिक थारुले भने । 

शहरमै चितुवा देखिन थालेपछि कतिपय किसानले बाख्रा घरभित्र बाँध्न थालेका छन् । चितुवाले दैनिक जनावर मार्न थालेपछि साँझ बिहान हिँडडुल गर्नेहरू त्रासमा छन् । यस्तै नियमित योगाभ्यास गर्नेहरू पनि घरबाट निस्कन डराउने गरेका नेकपा एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले बताए ।
चितुवाले दैनिक आतंक मच्चाउन थालेपछि इलाका प्रशासन कार्यालय, नगरपालिका, इलाका प्रहरी र राजनीतिक दलको उपस्थितिमा निकुञ्ज र कोषको टोलीले थप पासोहरु राख्ने निर्णय गरेको छ । 

‘दिनमा ड्रोन क्यामेराको सहायतले चितुवाको खोजी गर्ने निर्णय भएको छ’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी अधिकारीले भने ‘हिजो स्थानीय वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयको जग्गामा रहेको उखुबारी र केराबारी नजिक पासो थापिएको थियो, आज थप दुई वटा पासो थप्ने निर्णय भएको छ ।’ 

उनले स्थानीइ नागरिकलाई सचेत गराउने सूचना प्रवाह गर्ने, नगरपालिकाको ड्रोन क्यामेराबाट खोजी गर्ने र सुरक्षा टोली समेत परिचालन गर्ने निर्णय भएको बताए ।  बर्दिया राष्ट्रिय निकुञ्जबाट कर्णाली नदी तरेर बच्चा सहितको चितुवा वडा नं. २ मा रहेका सामुदायिक वन हुँदै बजार क्षेत्रमा पसेको आशङ्का गरिएको छ । 

बजार क्षेत्रमा मात्र नभएर चितुवाले टीकापुरको वडा नं. ७ र ८ मा समेत आतङ्क मच्चाएको छ । त्यहाँ पनि चितुवाले दैनिक बाख्रा, घरपालुवा कुकुर र भैँसी मार्न थालेको वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले बताए । 

‘दुई साता अघि मात्रै घरमा रहेको खोरमा पसेर चितुवाले बाख्रा र कुकुर मारेका हो’ अध्यक्ष ठकुल्लाले भने ‘घरमै पसेर आतंक मच्चाउन थालेपछि मान्छेलाई नै आक्रमण गर्ने हो कि भन्ने त्रास स्थानीयमा छ, हामी यसको नियन्त्रणका लागि पहल गरिरहेका छौं ।’

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update