Hamro Patra
सुदूरपश्चिममा आजैबाट कर संकलन सुरु गर्ने तयारी

टीकापुर, साउन २४
सुदूरपश्चिम प्रदेशमा रोकिएको कर संकलन आजबाट सुचारु गर्ने सरकारले तयारी गरेको छ । प्रदेश सरकारले कर संकलन सम्बन्धी अध्यादेश पारित गरेसँगै कर सङ्कलनको गाँठो फुकेको हो ।  प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढि कर संकलन रोकिएको छ ।

तत्कालीन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसद्मा प्रस्तुत भएको बजेट पास हुन नसकेपछि साउन १ गते देखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो । 

Khadga Memorial And Janajagriti

बजेट र सम्बन्धित ऐनहरू असार मसान्तभित्र प्रदेशसभाबाट पारित भए मात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानुनी व्यवस्था छ । अहिले दुवै रोकिएको छ । ठुला खर्चहरू नभए पनि सामान्य खर्च भने उधारोमै चलिरहेको छ ।

आज सरकारले अध्यादेश ल्याएसँगै कर सङ्कलनको बाटो खुलेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले  जानकारी दिए । उनका अनुसार  प्रमाणीकरणको लागि आजै प्रदेश प्रमुखसमक्ष अध्यादेश पुराइने छ।  अध्यादेश प्रमाणीकरण पछि  राजपत्रमा प्रकाशित गर्ने कर संकलन सुरु गर्ने तयारी गरिएको सचिव अधिकारीले बताए ।

सुदूरपश्चिम प्रदेशमा अघिल्लो वर्ष साउन महिनामा मात्रै साढे १२ करोड राजस्व संकलन भएको थियो । तर,अहिले समयमा बजेट पारित नहुँदा राजश्व संकलन ठप्प छ । 

प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन् । यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update