Hamro Patra
बाख्रा मारिएको घटना बुझ्न वन कार्यालयको टोली टीकापुरमा

टीकापुर, साउन २३
लगातार बाख्रा मारिएको घटनामा जंगली जनावरको संलग्नता छ कि छैन भनेर बुझ्न वन कार्यालयको टोली टीकापुर पुगेको छ । डिभिजन वन कार्यालय पहलवानपुरका डिएफओ राम बिचारी ठाकुर नेतृत्वको टोली टीकापुर पुगेको हो । 

टोलीले टीकापुर नगरपालिकाको कार्यालयमा सरोकारवाला पक्षसँग छलफल समेत गरेको छ । कार्यवाहक नगर प्रमुख लालविर चौधरीको अध्यक्षतामा भएको छलफलमा इलाका प्रशासन कार्यालय टीकापुर प्रमुख भुमिश्वर पोखरेल, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारी, सव डिभिजन वन कार्यालय टीकापुरका फरेष्टर भिष्मराज ओझा लगायतको उपस्थिति रहेको थियो । 

छलफलमा विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य लगायत अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो । छलफलमा सहभागी सबैले वन कार्यालयको टोलीसँग जंगली जनावरले विभिन्न समयमा दुःख दिने गरेको दुःखेसो पोखेका छन । उनीहरुले पछिल्ला घटनामा समेत जंगली जनावर नै संलग्न हुनसक्ने बताए । 

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बलविर थारुले आफ्नो वडामा समेत बेलाबेलामा यस्ता घटना हुने गरेको बताए । उनले जंगली जनावरको आक्रमणमा परेर थुप्रै पशुचौपाया मारिएको बताए । 

टीकापुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य खम्ब ठकुल्लाले समेत जंगली जनावरको आतंक बढ्दै गैरहेको बताए । उनले जंगल किनारका बस्तीमा विगत लामो समयदेखी यस्ता घटना भैरहेको बताए । 

छलफलले तीन वटा निर्णय गरेको छ । छलफलले तत्काल जंगली जनावरको आक्रमणबाट बच्न सतर्कता अपनाउने बारे सन्देशमूलक सूचना प्रशारण गर्ने, वन डिभिजन कार्यालयबाट खोज तथा उद्धार टोली परिचालन गर्न माग गर्ने र मृतक पशुचौपायाको क्षतिपूर्तिका लागि समेत वन डिभिजन कार्यालयमा अनुरोध गर्ने निर्णय गरेको छ । 

छलफलमा उपस्थित डिभिजन वन कार्यालय पहलवानपुरका डिएफओ ठाकुरले खोज तथा उद्धार टोलीका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग आवश्यक समन्वय भैरहेको बताए । उनले तत्काल टोली टीकापुर पुग्ने जानकारी दिए । ‘हामीले जतिसक्दो चाँडै भनेका छौं’ उनले भने–‘आजभोलि भित्रै टोली पुग्छ ।’ उनले टोलीले घटनास्थल र घटनाको प्रकृतिका बारेमा अध्ययन गर्ने बताए ।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी अधिकारीले रातिको समयमा घरबाहिर हिँडडुल गर्दा सतर्कता अपनाउन आग्रह गरे । उनले अनावश्यक रुपमा हिँडडुल नगर्न समेत आग्रह गरेका छन । ‘थप कुनै गम्भिर घटना नहोस् भन्ने चाहेका छौं’ उनले भने–‘हामी सबै सतर्क रहौं । अनावश्यक रुपमा हिँडडुल नगरौं ।’

उनले आफ्नो गाउँटोलमा कुनै शंकास्पद घटना भए प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरेका छन । टीकापुर नगरपालिकाका विभिन्न वडामा रातिको समयमा बाख्रा मारिएका घटना बढेका छन । प्रहरीका अनुसार पछिल्लो तीन दिन यता मात्रै १२ वटा बाख्रा मारिएका छन भने ४ वटा घाईते भएका छन । स्थानीयले ती घटनामा बाघ वा चितुवाको संलग्नताको आशंका गरेका छन । 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update