Hamro Patra
बाख्रा मारिन थालेपछि डिएफओको टोली टीकापुरमा

टीकापुर, साउन २३
केही दिनयता टीकापुरका विभिन्न व्यक्तिका बाख्रा एकै प्रकारको आक्रमणबाट मारिन थालेपछि डिभिजन वन कार्यालय पहलवानपुरको टोली टीकापुर पुगेको छ । 

वन कार्यालयका डिएफओ रामविचारी ठाकुरसहितको टोलीले टीकापुर नगरपालिका, इलाका प्रशासन कार्यालय टीकापुर, इलाका प्रहरी कार्यालय टीकापुर र स्थानीयसँग छलफल गर्न टीकापुर आइपुगेको हो । 

Khadga Memorial And Janajagriti

रातिको समयमा घरमै पुगेर आक्रमण गरिरहेको जंगली जनावरलाई नियन्त्रण लिनका लागि सम्बन्धित निकायसँग छलफल गर्न टोली टीकापुर पुगेको हो । अहिले नगरपालिकामा छलफल चलिरहेको टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिइन ।  

गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १८ का कोकिला दमाईका २ र शेरबहादुर कुँवरका एक बाख्रा मारिएका छन । कुँवरको एक बाख्रा घाईते भएको छ भने गएराति नै टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका डिग्रा परियार र नरपता थापाका एकएक बाख्रा समेत घाईते भएका छन । 

आइतवार राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ का बिजुसिँह बिट र दुर्गा परियारका खोरमा बाँधेका छ वटा बाख्रा मारेको थियो । प्रहरीका अनुसार उनीहरुका तीनतीन वटा बाख्रा मारिएका थिए । सोही राति टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुरमा समेत राजु ओलीका १ बाख्रा मृत र १ बाख्रा घाईते अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै सोमवार राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. बी स्थित विक्की विकको खोरमा रहेका दुईवटा बाख्रा मारिएका थिए । विकको घर बजार क्षेत्रबाट नजिकै रहेको छ । 

स्थानीयका अनुसार नजिकैको जंगलबाट आउने बाघले बाख्रा मार्न थालेको छ । यसअघि पनि बेलाबेलामा खोरमै बाख्रा मरेको भेटिन्थे । तर त्यतिबेला स्थानीयले वास्ता गरेनन् । पछिल्लो समयमा भने लगातार बाख्रा मारिन थालेपछि स्थानीय त्रसित बनेका छन ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update