Hamro Patra
कसले मार्दैछ टीकापुरमा दिनदिनै बाख्रा

टीकापुर, साउन २३
टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखी जारी छ । गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १८ का कोकिला दमाईका २ र शेरबहादुर कुँवरका एक बाख्रा मारिएका छन । कुँवरको एक बाख्रा घाईते भएको छ । 

प्रहरीका अनुसार गएराति नै टीकापुर नगरपालिका वडा नं. २ राजीपुरका डिग्रा परियार र नरपता थापाका एकएक बाख्रा समेत घाईते भएका छन । 

आइतवार राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ का बिजुसिँह बिट र दुर्गा परियारका खोरमा बाँधेका छ वटा बाख्रा मारेको थियो । प्रहरीका अनुसार उनीहरुका तीनतीन वटा बाख्रा मारिएका थिए । सोही राति टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुरमा समेत राजु ओलीका १ बाख्रा मृत र १ बाख्रा घाईते अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । 

Khadga Memorial And Janajagriti

त्यस्तै सोमवार राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. बी स्थित विक्की विकको खोरमा रहेका दुईवटा बाख्रा मारिएका थिए । विकको घर बजार क्षेत्रबाट नजिकै रहेको छ । 

स्थानीयका अनुसार नजिकैको जंगलबाट आउने बाघले बाख्रा मार्न थालेको छ । यसअघि पनि बेलाबेलामा खोरमै बाखा्र मरेको भेटिन्थे । तर त्यतिबेला स्थानीयले वास्ता गरेनन् । पछिल्लो समयमा भने लगातार बाख्रा मारिन थालेपछि स्थानीय त्रसित बनेका छन । 

टीकापुर नगरपालिका वडा नम्बर १ जमरा टोलका रामु सापकोटाले यसअघि पनि बाख्रा मारिने घटना बेलाबेलामा भैरहने बताए । ‘कहिले काँही बाख्रा पहिले पनि मारिन्थे’ उनले भने–‘त्यतिबेला कसैले वास्ता गर्थेनन् । कैले काँही हुन्छ भन्ने हुन्थ्यो । तर अहिले त लगातार घटना भैरहेको छ ।’

स्थानीय बासिन्दा बाघले बाख्रा मात्रै नभएर मान्छेलाई समेत आक्रमण गर्न सक्ने भन्दै त्रसित बनेका छन । स्थानीय प्रकाश खड्काले सरोकारवालाले समयमै ध्यान दिएर सम्भावित दुर्घटना हुन नदिन पहल गर्नुपर्ने बताए । उनले स्थानीय सरोकारवालाले घटनाका बारेमा खाशै वास्ता नगरेको बताए । ‘स्थानीय निकाय किन मौन हो’ उनले भने–‘कि मान्छे मारिए पछि मात्रै आँखा खोल्ने हो ?’

दिनदिनै बाख्रा मारिन थालेपछि प्रहरीलाई समेत घटना टाउको दुखाई बनेको छ । प्रहरीका अनुसार बाघ वा चितुवा मध्ये कुनै एकले बाख्रा मार्ने गरेको छ । ‘घटनास्थलको अध्ययन गर्दा त्यस्तो देखिन्छ’ इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले भने–‘बाघ वा चितुवा बाहेकले यसरी बाख्रा मार्न सक्दैन ।’

केही स्थानीयले कुकुरले बाख्रा मारेको हुनसक्ने आशंका गरेका थिए । उनीहरुका अनुसार यसअघि पनि बेलाबेलामा कुकुरले पशुचौपायालाई आक्रमण गर्ने गरेको पाईन्थ्यो ।

प्रहरीले कुकुर जान नसक्ने ठाउँमा समेत बाख्रा मरेको पाईएको बताएको छ । डिएसपी अधिकारीले टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १८ का शेरबहादुर कुँवरको छ फिट अग्लो पर्खाल भित्र रहेको खोरमा बाख्रा मारिएकाले बाघ वा चितुवा मध्ये कुनै एक हुनुपर्ने बताए । 

सबै बाख्रा एउटै ढंगले मारिएका छन । स्थानीयका अनुसार सबैजसो बाख्राको घाँटीमा चोट लागेको छ । विक्की विकको भने एउटा मृत बाख्राको मात्रै पेट चिरिएको थियो ।


बाख्रा मारिएका मध्ये टीकापुर नगरपालिका वडा नम्बर ८ सूर्यपुर बाहेकको सबै ठाउँ एकापसमा जोडिएको छ । ती बस्ती नजिकै कैलाशेश्वर, खोटेना भूराखानी, शितल लगायतका सामुदायिक वन रहेका छन ।

टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित रानी कुलाको मुहान क्षेत्रमा बेलाबेलामा बाघ देखिने गरेको छ । स्थानीयका अनुसार सो बाघ डमरु सहित बेलाबेलामा स्थानीय कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा समेत देखिन्छ ।

कर्णाली नदीको पश्चिमी किनारमा रहेको वन क्षेत्रमा जंगली जनावरको संख्या बढेको छ । यहाँ बाघ, हात्ती, गैडा, बँदेल लगायतका जंगली जनावर देखिन थालेका छन । तिनै जंगली जनावरले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याउने गरेका छन । 

घाँस दाउरा गर्न वन क्षेत्रमा प्रवेश गरेका केही व्यक्तिले जंगली जनावरको आक्रमणमा परेर ज्यान समेत गुमाईसकेका छन । अहिले बाघले बजार नजिकैको बस्तीमा आक्रमण गरेपछि मानवीय क्षति हुनसक्ने भन्दै स्थानीय डराएका छन । 
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update