Hamro Patra
काँग्रेस केन्द्रिय समिति बैठक साउन २३ बाट

काठमाण्डौं, साउन २२
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिबाट गत फागुनमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत तीनवटा दस्तावेज पारित गर्ने तयारी गरेको छ । यसका लागि साउन २३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । 
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाका विषयमा सोमबार कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले आगामी साउन २३ गतेबाट हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाकाबारे छलफल गरेको हो ।

Khadga Memorial And Janajagriti

बैठकमा केन्द्रीय कार्यसमितिबाट महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको राजनीतिक, सांगठनिक र समसामयिक प्रस्तावलाई संशोधनसहित पारित गर्ने सन्दर्भमा छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

त्यसैगरी पार्टी संगठन सुदृढीकरण र सरकार सञ्चालनको सम्बन्धमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने तय भएको छ ।

कांग्रेसको महासमिति बैठक गत फागुन ७ देखि १० सम्म ललितपुरको गोदावरीमा बसेको थियो । त्यहाँ प्रस्तुत भएका प्रतिवेदनहरू सर्वसम्मतिले पारित भएको भनिए पनि अन्तिम रूप भने केन्द्रीय कार्यसमितिले दिने निर्णय भएको थियो ।

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्ने प्रस्ताव पेस गरेका थिए भने अर्का महामन्त्री शर्माले राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटक मात्र हुन पाउने व्यवस्था प्रस्ताव गरेका थिए । उपसभापति खड्काले माओवादीको सशस्त्र संघर्षबारे गरेको टिप्पणी विवादित भएको थियो । कांग्रेसको महासमिति बैठकलगत्तै कांग्रेस र माओवादीबीचको सत्ता साझेदारी टुटेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update