Hamro Patra
टीकापुरमा फेरी बाघले बाख्रा मार्यो

टीकापुर, साउन २२
टीकापुरमा फेरी गएराति बाघले बाख्रा मारेको छ । अस्तिको भन्दा गएराति झन बाघ बजारको नजिक पुगेको छ । 

बाघको आक्रमणमा परेर टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. बी स्थित विक्की विकको खोरमा रहेका दुईवटा बाख्रा मारिएका छन । खोरमा रहेका अन्य केही बाख्रालाई चोटपटक लागेको बताईएको छ । 

बाघले अस्ति राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका छ वटा बाख्रा मारेको थियो । स्थानीय बिजुसिँह बिट र दुर्गा परियारका ३÷३ वटा बाख्रा मारेको थियो । 

Khadga Memorial And Janajagriti

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गएराति बाघ बजारको धेरै नजिक प्रवेश गरेको देखिन्छ । घटनास्थल टीकापुर नगरपालिका भवन भन्दा करिव पाँच सय मिटर आसपासमा रहेको छ । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक लोकराज अवस्थीले बाघको आक्रमण बढ्दै गएको बताए । उनले बस्ती भित्रै पसेर बाघले आक्रमण गर्न थालेपछि थप जोखिमको सम्भावना रहेको बताए ।

बाघको आक्रमण दिनदिनै बजार नजिक बढ्दै गएपछि स्थानीयमा त्रास फैलिएको छ । बाघले मान्छेलाई समेत आक्रमण गर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका हुन । 

टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित रानी कुलाको मुहान क्षेत्रमा बेलाबेलामा बाघ देखिने गरेको छ । स्थानीयका अनुसार सो बाघ डमरु सहित बेलाबेलामा स्थानीय कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा समेत देखिन्छ ।

कर्णाली नदीको पश्चिमी किनारमा रहेको वन क्षेत्रमा जंगली जनावरको संख्या बढेको छ । यहाँ बाघ, हात्ती, गैडा, बँदेल लगायतका जंगली जनावर देखिन थालेका छन । तिनै जंगली जनावरले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याउने गरेका छन । 

घाँस दाउरा गर्न वन क्षेत्रमा प्रवेश गरेका केही व्यक्तिले जंगली जनावरको आक्रमणमा परेर ज्यान समेत गुमाईसकेका छन । अहिले बाघले बजार नजिकैको बस्तीमा आक्रमण गरेपछि मानवीय क्षति हुनसक्ने भन्दै स्थानीय डराएका छन । 
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update