Hamro Patra
सुदूरपश्चिम र कर्णालीले खोजिरहेको भीम रावल

वेदप्रकाश तिमिल्सेना
मैले नेकपा एमालेका नेता डाक्टर भीम रावलका सन्दर्भमा आफ्नो मनमा लागेको कुरा व्यक्त गर्न खोजेको धेरै भयो । अहिलेसम्म विषय अनि सन्दर्भको तारम्यता मिलेको थिएन । त्यसैले उहाँका बारे लेख्ने उपयुक्त समयको पर्खाइमा रहेँ । म आजभोलि उतिबेलाको पत्रकार होइन, राजनीतिक कार्यकर्ता भएको छु ।

यतिबेला चाहिँ देशमा दुई प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा ( एमाले ) को सरकार बनेको समयमा उहाँबारे चर्चा गर्न उपयुक्त हुने लाग्यो । संविधान संशोधनको परिचर्चा सुरु भएका बेला डाक्टर रावलबारेमा चर्चा गर्नु सान्दर्भिक हुने मेरो बुझाइ हो । यतिबेला उहाँबारेमा छलफल गर्ने र उहाँजत्तिको नेता खोजी गर्ने उपयुक्त समय हो भन्ने मेरो निष्कर्ष पनि हो ।

पूर्वउपप्रधानमन्त्री रावलको राजनीतिक विचारसँग मेरो कुनै पनि साइनो छैन । उहाँ मुलुक हाँकिसकेका, एमालेका उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएका नेपाली राजनीतिमा वाम पृष्ठभूमिका जब्बर नेता, म चाहिँ नेपाली कांग्रेसको कार्यकर्ता । त्यस हिसाबले उहाँले अंगिकार गरेको विचार अनि म कार्यकरता रहेको नेपाली कांग्रेसको सिद्धान्त एक नदीको दुई किनार जस्तै छ । सरसर्ती सतही ढंगले हेर्दा रावलसँग दूरी देखिन्छ । हो पनि उहाँसँग न राजनीतिक निकटता थियो न आगामी दिनमा हुनेछ । उहाँसँग धेरै नजिकको निकटता महसुस हुन्छ । विगतमा पत्रकारको भूमिकामा रहदा उहाँसँग टाढा थिइनँ । आफ्नो भूगोलको जब्बर नेतासँग भौगोलिक नाता पनि छ । भीम रावल अछामी हुनुहुन्छ , सुदूरपश्चिमको हुनुहुन्छ । त्यस हिसाबले उहाँसँग भौगोलिक नाता हुँदा उहाँ हाम्रो नजिकको ठूलो नेता हो ।

Khadga Memorial And Janajagriti

राजनीतिक वैचारिक निकटता नभए पनि भौगोलिक निकटताचाहिँ पक्का छ । साँच्चै भन्नुपर्दा अछामको पछिल्लो परिचय भीम रावलसँग जोडिएको छ । मुलुकमा पूर्व–पश्चिम जता जाँदा पनि घर अछाम हो भनेपछि सर्वसाधारणले पनि एमालेका उपाध्यक्ष भीम रावलको नाम उच्चारण गरेको पाइन्छ । म एक दशकअघि नेपालका धेरै जिल्ला पुगेको थिएँ । कुराकानी हुँदा जहिल्यै घर कहाँ हो भनेर सोधिने प्रश्नको उत्तरमा मैले अछाम भन्दा भीम रावलको जिल्ला भनेर धेरैजनाले भनेको याद आइरहेको छ । सामाजिक सञ्जाल व्यापक नभएको जमानमा उहाँकोलोकप्रियता कति थियो भन्ने अनुमान गर्न सक्छौँ ।

अछामभित्र उहाँ सबैको साझा नेता बन्नबाट चुक्नु भएको यथार्थ हो । यसमा उहाँको व्यक्तिगत कमजोरी थिएन भन्ने मेरो ठम्याइ छ ।यसमा चाहिँ डाक्टर रावल शक्तिशाली हुँदा उहाँका अघिपछि लाग्नेको कमजोरी हो । नेपाली कांग्रेसका सामान्य कार्यकर्तालाई पनि उहाँको नामबाट दुःख दिइयो । उहाँनजिक रहेकाहरूले भीम रावलको शक्तिलाई आफ्नो स्वार्थमा प्रयोग गर्न उहाँलाई सबैको साझा बन्नबाट रोक्न सबैको पहुँचबाट टाढा बनाए ।
इमानदार नेता रावलले तिनको स्वार्थ बुझ्न सक्नुभएन अनि अछाम जिल्लाभित्र आफ्नै पार्टीको फरक लाइननजिक रहेका र अरु पार्टीमा सक्रियका लागि त्यति प्रिय बन्न सक्नु भएन ।

अछाममा चाहिँ उहाँलाई केही खराब प्रवृत्तिका मानिसहरूले दुरुपयोग पनि गरे । प्रहरी प्रशासन लगायत सरकारी शक्ति आफूअनुकूल बनाउन उहाँको शक्ति नेपाली कांग्रेसका नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकलाई पेल्न प्रयोग भयो । वचनमा पक्का भएका रावलले आफ्नो कोर ग्रुपलाई विश्वास गर्ने कारण इमानदारीको राजनीति गर्दा आफूनजिक ठानेकाले भनेको कुरा साँचो हो, होइन भन्ने सोधपुछ गरेनन् । त्यसो नगरेर आफ्नालाई आँखा चिम्लेर विश्वास गर्दा प्रतिपक्षी विचार र दलप्रति आक्रामक देखिनुभएको मेरो अनुमान हो ।

उहाँ (पूर्व उपप्रधानमन्त्री रावल ) का नजिक रहेको बताउनेहरूले एक प्रकारले मिथ्या सूचना प्रवाह गरेर मुलुक हाँक्ने नेतामाथि विश्वासघात गरेका थिए । मलाई लाग्छ, गलत सूचना प्रवाह गरेर साझा नेता हुन नदिन उद्यत ती विश्वासघातीहरूबारे आजभोलि आदरणीय रावलज्यूले थाहा पाउनुभयो होला ।

मेरो कुरा के हो भने विश्वासघातीहरूका गतिविधिलाई आधार मानेर मात्रै आजको मितिमा डाक्टर रावलको मूल्याकंन गर्नु गलत हुन्छ । राजनीतिक जीवनमा राजकीय भूमिकामा रहँदा नीतिगत कुरामा रावलले गरेका काम यति धेरै छन्, जसको लाभ अहिले अछाम र सुदूरपश्चिमले पाइरहेको छ । खासमा उहाँको मूल्याकंन संविधान निर्माणमा गरेको कामका आधारमा हुनुपर्छ ।

सेना समायोजन विषेश समितिमा रहँदाको उहाँको अडानलाई डाक्टर रावलको मूल्यांकनको कडी बनाइनुपर्छ । गृहमन्त्री हुँदा लाखौँ बिगाहा सरकारी जग्गा, वनजङ्गलको जग्गाबाट अतिक्रमण हटाउन उहाँको ठोस निर्णयलाई आधार मनेर क्षमताको मूल्याकंन हुनुपर्छ । उहाँको राष्ट्रवादको लाइन बुझेर उहाँबारे धारणा बनाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।

हामीले विगतमा नेता रावलका अघिपछि लाग्नेहरूका गतिविधिमा आधारित रहेर उहाँको उहाँको मूल्याकंन ग¥यौँ भने नीति निर्माण तहमा खेलेको भूमिकाको योगदानको अपमान हुनेछ । ती स–साना कुरालाई आधार मानेर तेजोबध गर्न थाल्यौँ भने हाम्रो भूगोलको प्रतिनिधित्व गरेर हक्की, इमानदार अनि देशप्रति निष्ठावान राष्ट्रवादी राजनीतिज्ञको पहिचानको सम्मान गरेको ठानिँदैन । आफ्नो योगदानका कारण उहाँले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वप्रधानमन्त्री डाक्टर केआई सिंहको हाराहारीमा उभ्याउनु भएको भन्न कन्जुस्याइँ गर्नु हुन्न ।

उहाँ राजकीय शक्तिमा रहँदा जहिल्यै विरोध गरियो । उहाँरुद्ध धेरै टिप्पणी लेख्नेमध्ये म पनि पर्छु । विगतमा उहाँको विरोध र समर्थनबीच डाक्टर रावलको राम्रो कामको चर्चा हुन सकेन । जुन कुराको उहाँले जस पाउनुपर्थ्यो, त्यसमा कहिले छलफल भएन । उहाँले गरेका असल कामको मैले माथि उल्लेख गरेको विश्वास गरेकाहरूले जनस्तरमा लिन उपयुक्त ठानेनन् ।

भौतिक पूर्वाधारको सवाललाई मात्रै विरोध र समर्थन गर्ने होडबाजी चल्यो । भौतिक पूर्वाधार हेरेर नेताको मूल्यांकन युक्तिसङ्गत नहुने मलाई महसुस भएको छ । उतिबेला हामीले भौतिक पूर्वाधारलाई आधार मानेर लेख्यौँ बोल्यौँ । त्यसैले विगतलाई फर्केर हेर्दै समीक्षा गर्दाको निष्कर्ष आजको मितिमा डाक्टर रावलप्रति सम्मान पलाएको छ । दीर्घकालीन प्रभाव राख्ने नीतिगत पक्का काम गरेर उहाँले सुदूरपश्चिम र अछामलाई धेरै गुन लगाउनु भएको छ ।

अछाममा दुई निर्वाचन क्षेत्र उहाँको कारण मात्रै सम्भव भएको हो । हामीले वरिष्ठत राजनीतिज्ञ रावलको राम्रो कामको प्रशंसा गर्न पनि कन्जुस्याइँ गर्नु हुँदैन । संविधान निर्माण प्रक्रियामा भीम रावल नभएको भए अछाम पिछडिएको जिल्लामा समावेश हुने थिएन । केही वर्षयता पिछडिएको क्षेत्रको कोटामा सरकारी जागिरका सबै निकायमा अछामी अगाडि छन् ।

अनि पढाइमा पिछडिएको क्षेत्रको छात्रवृत्ति कोटामा अछामीले बढी लाभ पाएका छन् । एमालेका भए पनि भीम रावलको प्रसायबाट केही अछामी नेता सांसद बन्न पुगे । राजकीय जिम्मेवारीमा सुदूरपश्चिमबाट उहाँका कारण धेरैले लाभ लिए । तसर्थ सुदूरपश्चिम अनि कर्णाली क्षेत्रको एजेन्डालाई निष्कर्षमा पु¥याउन डाक्टर भीम रावलको अझै खाँचो छ ।

भीम रावलको बौद्धिकता र उहाँले लिएको राष्ट्रवादको एजेन्डाका कारण उहाँको सान्दर्भिकता आज पनि हिजो जत्तिकै छ । विगतमा अछाममा उहाँका अघिपछि लाग्नेहरू (जो आजभोलि डाक्टर रावलसँग दूरी कायम गरेका छन) को तेज पहिले जस्तो छैन । तर भीम रावलको प्रभाव उस्तै छ । उहाँले सामाजिक सञ्जालमा धारणा पोस्ट गर्नेबित्तिकै मूलधारका सञ्चारमाध्यममा प्रमुख समाचार बन्नु उहाँको सान्दर्भिकता हिजो जस्तै आज पनि उत्तिकै छ भन्ने प्रमाण हो । यतिबेला संविधान संसोधनको चर्चा भइरहँदा अछामसहित सुदूरपश्चिम प्रदेश र कर्णालीका लागि काठमाडौंका नीति निर्माण गर्ने थलोमा फेरि डाक्टर भीम रावलको उपस्थिति आवश्यक भएको मेरो बुझाइ हो ।

लेखक तिमिल्सेना नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सदस्य हुन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update