Hamro Patra
छाउपडी कुप्रथा रोक्न नगरपालिकाको तीन चरणको कार्यक्रम

योगेश रावल
टीकापुर, पुस २३
टीकापुर नगरपालिकाले छाउपडी कुप्रथा रोक्न तीन चरणको कार्यक्रम सार्वजनिक गरेको छ । उपमेयर केशरी रावल बिष्टको नेतृत्वमा गठित कार्यदलले आज पत्रकार सम्मेलन गरेर बैठकले गरेका निर्णय सहितको कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रम तत्कालिन, अल्पकालिन र दीर्घकालिन रहेको उपमेयर बिष्टले जानकारी दिईन । जसमा तत्कालिन तर्फ छाउपडी कुप्रथा विरुद्ध प्रचार प्रसार, छाउगोठको तथ्यांक संकलन, सार्वजनिक पदमा रहेर घरमा छाउपडी गोठ भएका व्यक्तिलाई कारवाही, कार्यदल गठन, निगरानी, संवाद लगायत छन ।

त्यस्तै अल्पकालिन तर्फ प्याड उत्पादन गर्नुका साथै सबै विद्यालय र समुदायमा निशुल्क वितरण, प्याड डिस्पोजल इन्सुलेटरका साथै दीर्घकालिन तर्फ महिला अधिकार, परिवार व्यवस्थापन, वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना रहेका छन ।

Khadga Memorial And Janajagriti

कार्यदलको बैठकले सजाय र प्रोत्साहन दुवै नीतिलाई एकसाथ अघि बढाउने निर्णय समेत गरेको छ । बैठकले सरकारी सुविधा पाउने व्यक्तिले छुवाछुत गरेको पाईएमा सेवा सुविधा रोक्का, विभेद गर्ने विरुद्ध वडा कार्यालयमा उजुरीका साथै थप कानूनी कारवाही गर्ने निर्णय गरेको छ । यस्तै बैठकले छाउपडी मान्ने गाउँमा विकास निर्माणका काम रोक्ने समेत निर्णय गरेको छ ।

यसैगरी बैठकले पारिवारिक सहमतिमा गोठ भत्काउने व्यक्ति, छाउपडी कुप्रथा विरुद्धको अभियानमा सरिक हुने जेष्ठ नागरिक, पण्डित पूजारी, धामी, गुरुवा र अभियन्तालाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । बैठकले छाउपडी कुप्रथा अन्त्यको घोषणा गर्ने गाउँ र वडालाई विकास निर्माणका काममा प्राथमिकता दिने निर्णय समेत गरेको संयोजक बिष्टले जानकारी दिईन ।

छाउपडी कुप्रथा रोक्न विभिन्न संरचना समेत गठन भएका छन । मेयर तपेन्द्रबहादुर रावलको नेतृत्वमा अनुगमन तथा निर्देशन समिति, वडाध्यक्षको नेतृत्वमा वडापालिका कार्यदल र इच्छुक अगुवाको नेतृत्वमा गाउँस्तरमा कार्यदल गठन भएका छन । ती कार्य दलमा विभिन्न पार्टीका प्रतिनिधि, सरकारी संघसंस्थाका प्रतिनिधि, धार्मिक अगुवा, विद्यालयका प्रधानाध्यापकका साथै समाज परिवर्तनका संवाहक समेत रहेका छन ।

बैठकले चालु आव २०७६÷०७७ भित्रै नगरपालिका भित्र छाउपडी कुप्रथा रोक्न कार्ययोजना बनाउने निर्णय समेत गरेको छ । कार्यदलका संयोजक उपमेयर बिष्टले छाउपडी कुप्रथाले महिलाको सुरक्षित बास र पोषणयुक्त खान पाउने अधिकारको हनन, सामाजिक रुपमा कलंक, कानूनी रुपमा दण्डनीय भएकाले कार्ययोजना बनाएर अघि बढ्न नगरपालिका तयार रहेको बताईन ।

कार्यदलले छाउपडी कुप्रथा रोक्नका लागि सबै नगरबासीको सहयोगको अपेक्षा गरेको छ । नगरपालिकाको एक्लो प्रयासले मात्रै वर्षौदेखीको कुप्रथा नरोकिने भन्दै अनुगमन तथा निर्देशन समितिका संयोजक समेत रहेका मेयर रावलले सबैको सहयोग आवश्यक रहने बताए ।

कार्यदलले बैठक मार्फत समाजका रोल मोडलहरुलाई छाउपडी कुप्रथा विरुद्ध जनचेतना जगाउने कार्यमा खटाउने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update