Hamro Patra
मुख्यमन्त्री शाहले लिए पद तथा गोपयिनताको सपथ, १० सदस्यीय मन्त्रीमण्डल गठन

धनगढी, साउन २१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा १० सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । शाहलाई आइतबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच मुख्यमन्त्री शाहसँगै ६ जना मन्त्री र ३ राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन । उनीहरु सबैलाई प्रदेश प्रमुख नाजिर मिँयाले पद तथा गोपनियताको सपथ खुवाएका छन । 

शाह नेतृत्वको मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट २ मन्त्री र २ राज्यमन्त्री, नेकपा एमालेबाट ३ मन्त्री र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्तिबाट एकजना मन्त्री रहेका छन । काँग्रेसबाट बहादुर सिँह थापाले आर्थिक मामिला मन्त्री र मेघराज खड्काले सामाजिक विकास मन्त्रीको पदभार सम्हालेका छन । 

Khadga Memorial And Janajagriti

त्यस्तै काँग्रेसबाटै आर्थिक मामिला राज्यमन्त्रीमा प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्का रहेका छन । 

एमालेकातर्फबाट सुरेन्द्र पालले भौतिक पूर्वाधार विकास, हिरा सार्कीले आन्तरिक मामिला तथा कानून र बीरबहादुर थापाले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेका छन । एमालेबाटै निर्मलादेवी साउँदले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन । 

नागरिक उन्मुक्तिका तर्फबाट लक्ष्मण किशोर चौधरीले वन, वातावरण मन्त्री पद तथा गोपनियताको सपथ लिएका छन । 

शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बनेका छन । उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए । पुनः समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाह फेरि मुख्यमन्त्री बनेका हुन ।

उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन । प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भएका थिए ।

तर २०७९ मंसिरको चुनावबाट गठन भएको प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र उनीपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए ।

१७ असारमा काँग्रेस र एमालेको गठबन्धन बनेपछि सोडारी सरकारबाट बाहिरिएको थियो । त्यसपछि अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update