Hamro Patra
धनगढी–स्याउले सडक हस्तान्तरणको तयारी

धनगढी, साउन २१
धनगढी–स्याउले सडक यही साउन मसान्तसम्ममा हस्तान्तरण गरिने भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत कालोपत्रे सम्पन्न भैकेको १३ किलोमिटर चार सय मिटर सडक हस्तान्तरण हुने भएको छ । 

ठेकेदार कम्पनीले सडक कालोपत्र गर्ने काम सम्पन्नपछि सो सडकखण्डमा ट्राफिक सङ्केतअन्तर्गत साइनबोर्ड, जेब्रा क्रसिङ, सडक बोर्ड मार्किङ राख्नेलगायत सबै काम मापदण्डअनुसार  सम्पन्न गरिसकेकाले साउनभित्रै आयोजना कार्यालयलाई हस्तान्तरण गर्न लागेको हो । 

Khadga Memorial And Janajagriti

अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा बजेट अभावका कारण सडक कालोपत्रको काम अघि बढ्न सकेको थिएन । सो सडक निर्माणका लागि गत आव २०८०÷८१ मा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि सडक कालोपत्र गर्ने काम सुरु भएको थियो ।

विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले (धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटर कायम गरिएको थियो । 

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्रयाक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माणकार्यले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ । सो सडक धनगढी–खुटिया–डोटीको बिपीनगर, जोरायल, केआई सिंह गाउँपालिका हुँदै दिपायलसँग जोडिनेछ । सो सडकखण्डअन्तर्गत दिपायलसम्म ट्रयाक खोल्ने काम पूरा भएर स्तरोन्नति भइरहेको बताईको छ। 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update