Hamro Patra
टीकापुर बजार नजिकै बाघको आक्रमण

टीकापुर, साउन २१
टीकापुर बजार नजिकैको बस्तीमा बाघको आक्रमण बढेको छ । बाघले गएराति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका छ वटा बाख्रा मारेको छ । 

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार बाघले स्थानीय बिजुसिँह बिट र दुर्गा परियारका ३÷३ वटा बाख्रा मारेको छ । प्रहरी निरिक्षक लोकराज अवस्थीले मृत बाख्राको अवस्था हेर्दा बाघले नै आक्रमण गरेको हुनसक्ने बताए । 

Khadga Memorial And Janajagriti

‘मरेका सबै बाख्राको घाँटीमा घाउ देखिन्छ र जहाँबाट रगत बगेको छ’ उनले भने–‘शरीरको अन्य भागमा खासै चोटपटक देखिदैन ।’

बजार नजिकैको बस्तीमा बाघको आक्रमण देखिए पछि स्थानीयमा त्रास फैलिएको छ । बाघले मान्छेलाई समेत आक्रमण गर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका हुन । 

टीकापुर नगरपालिकासँगै जोडिएको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित रानी कुलाको मुहान क्षेत्रमा बेलाबेलामा बाघ देखिने गरेको छ । स्थानीयका अनुसार सो बाघ डमरु सहित बेलाबेलामा स्थानीय कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा देखिन्छ ।

कर्णाली नदीको पश्चिमी किनारमा रहेको वन क्षेत्रमा जंगली जनावरको संख्या बढेको छ । यहाँ बाघ, हात्ती, गैडा, बँदेल लगायतका जंगली जनावर देखिन थालेका छन । तिनै जंगली जनावरले टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याउने गरेका छन । 

घाँस दाउरा गर्न वन क्षेत्रमा प्रवेश गरेका केही व्यक्तिले जंगली जनावरको आक्रमणमा परेर ज्यान समेत गुमाईसकेका छन । अहिले बाघले बजार नजिकैको बस्तीमा आक्रमण गरेपछि मानवीय क्षति हुनसक्ने भन्दै स्थानीय डराएका छन । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update