Hamro Patra
सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह पुनः दोहोरिने

धनगढी, साउन २०
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह पुनः मुख्यमन्त्री बन्ने भएका छन । उनले आजै प्रदेश प्रमुख नजिर मियाँ समक्ष दाबी पेश गर्ने भएका छन । 

शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए ।

Khadga Memorial And Janajagriti

केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री काँग्रेसले पाउने सहमति भएको थियो । सोही अनुसार आज काँग्रेसले मुख्यमन्त्रीमा दाबी पेस गर्ने छ । उक्त दामीमा एमालेले पनि समर्थन गर्ने छ ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ । यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ । 

मुख्यमन्त्रीमा काँग्रेसबाट तीन जनाको दाबी रहेपनि संसदीय दलका नेता शाह नै मुख्यमन्त्री बन्ने स्रोतले जानकारी दिएको छ । अरू दुई आकांक्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरि तयारी अगाडी बढाउन निर्देशन दिइसकेका छन ।

काँग्रेसले आज ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ । उक्त बैठकमा यस विषयमा ठोस निर्णय हुने कांग्रेस नेताहरू बताउँछन् ।  संसदीय दलको बैठकले सरकारमा सहभागी हुने विषयमा टुङ्गो लगाउने जनाइएको छ ।  उक्त बैठकले मन्त्रीहरूको नाम पनि टुङ्गो लगाउने छ । कांग्रेसबाट नयाँ अनुहार मन्त्रीमा समावेश हुने सम्भावना रहेको छ । 

यता एमालेले पनि सरकारमा कसलाई पठाउने भन्ने कुनै निर्णय गरेको छैन । दीर्घ सोडारी नेतृत्वको सरकारमा एमालेबाट सुरेन्द्र पाल, वीर बहादुर थापा र हिरा सार्की मन्त्री थिए । पुराना तीन जना मन्त्री मध्ये केही दोहोरिने र केही नदोहोरिने सम्भावना रहेको एमाले स्रोतको भनाइ छ । पुराना केही मन्त्री नयाँ सरकारमा सहभागी नहुँदा केही नयाँ मन्त्री समावेश हुने सम्भावना रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update