Hamro Patra
सिँचाई आयोजना अन्र्तगत विद्युत गृह निर्माणको काम तिब्र

योगेश रावल
टीकापुर, पुस २०
राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजना अन्र्तगत विद्युत गृह निर्माणको काम तिब्र पारिएको छ ।

आयोजनाले तेस्रो पटक थपिएको म्याद भित्रै विद्युत गृह निर्माण सम्पन्न गर्ने गरी काम भैरहेको सिनियर डिभिजनल इन्जिनियर विदूर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगामी २०७७ जेठ २२ गते भित्र विद्युत गृह निर्माणको काम सक्नुपर्ने लक्ष्य छ ।

यसअघि सन् २०१९ जुलाई भित्र निर्माण सम्पन्न गर्ने गरी आयोजनाको सिफारिसमा विभागले विद्युत गृह निर्माणको म्याद दोस्रो पटक एक वर्ष थप गरेको थियो । यसको म्याद पहिलो पटक सन् २०१७ मा थप भएको थियो ।

Khadga Memorial And Janajagriti

सन् २०१४ मा तीन वर्ष भित्र विद्युत गृह निर्माण गर्ने गरी आयोजना र एसईडब्ल्यू/टुण्डी जेभीबीच सम्झौता भएको थियो । जसमा ५ किलोमिटर नहर समेत निर्माण गर्नुपर्ने उल्लेख छ । नहर निर्माणको काम भने लगभग सकिएको छ ।

विद्युत गृह निर्माणले बेलाबेलामा विभिन्न अवरोध खेप्नु परेका कारण निर्माण कार्यमा ढिलाई भएको आयोजनाको दावी छ । सुरुका दुई वर्ष वन विभागले रुख काट्न आदेश नदिएका कारण विद्युत गृह निर्माणको काम रोकिएको थियो । समयमा रुख काट्ने आदेश नपाएपछि निर्माण कम्पनीले विद्यृत गृह निर्माणको काम सुरु गर्न पर्खिनु पर्यो ।

विद्युत गृह निर्माणको काम सुरु भएपछि समेत विभिन्न अवरोध देखा परे । विद्यृत गृह निर्माणका लागि खनिएको खाल्डोमा अनियन्त्रित रुपमा जमिनमूनिबाट पानी निस्कियो । जसको व्यवस्थापन निर्माण पक्षका लागि निकै ठूलो चुनौती बन्न पुग्यो । निर्माण कम्पनीले खाल्डोमा पानी जम्न नदिन बोरिङका सहायताले बाहिर निकाल्यो ।

निर्माण पक्षले खाल्डो सुख्खा पारेर विद्यृत गृहको फाउण्डेशन तयार पारेपछि एकाएक डिजाइनमा फेरबदल भयो । नयाँ डिजाइन बनाउनु पर्ने भन्दै केही समय विद्युत गृह निर्माणको काम पुनः रोकियो । जसका कारण विद्युत गृह निर्माणको म्याद बेला बेलामा थप्नुपर्ने वाध्यता सिर्जना भएको आयोजनाले जनाएको छ ।

तर अहिले भने विद्युत गृह निर्माणको काममा कुनै अवरोध नरहेको सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठ बताउँछन । ‘अहिले डिजाइन पास भएर आईसक्यो, पानी जम्ने समस्या पनि छैन’ उनले भने–‘दिनरात गरेर दुई सिफ्टमा काम भैरहेको छ । समयमै निर्माण सम्पन्न हुन्छ ।’

जानकी गाउँपालिका–९ कटासे बजार नजिकै विद्युत गृह निर्माणको काम भैरहेको छ । विद्युत गृह निर्माणका लागि मुल नहरसँगै १६ मिटर गहिरो खाल्डो खनिएको छ । विद्युत गृहका लागि आवश्यक सबै उपकरणहरु भारतको नोयडामा निर्माण गरिएका छन । ती मध्ये अधिकांश उपकरण निर्माणस्थलमा ल्याई सकिएको निर्माण पक्षले जनाएको छ । 

यो विद्युत गृह नेपाल सरकारको करिव ९० करोडको लागतमा निर्माण हुन लागेको हो । यसबाट ४ दशमलव ७१ मेघावाट विद्युत उत्पादन हुने बताईएको छ । यहाँ उत्पादित विद्युत आयोजना क्षेत्र भित्रका बासिन्दालाई उपभोगका लागि वितरण गर्ने आयोजनाको उद्देश्य छ । आयोजनाले विद्युतबाट भएको आम्दानीले सिँचाई आयोजना मर्मत सम्भार लगायतका काममा खर्च गर्न सकिने जनाएको छ ।

सिँचाई आयोजनाको काम सर्भे भैरहेका बेला विज्ञहरुको टोलीले नहरबाट विद्युत उत्पादन गर्न सकिने कुरा औंल्याएका थिए । सोही आधारमा रानी जमरा कुलरीया जल उपभोक्ता समितिले सम्भाव्यता अध्ययनका लागि सरकार समक्ष आग्रह गरेको थियो । विज्ञहरुको टोलीले विद्युत उत्पादनको सम्भावना रहेको भन्दै सरकार समक्ष प्रतिवेदन बुझाएपछि सरकारले सिँचाई आयोजना भित्रै विद्युत उत्पादनको कामलाई समेत जोडेको थियो ।

यो विद्युत गृहसँगै आयोजनाले अन्य ठाउँमा समेत विद्युत उत्पादनको सम्भाव्यताका बारेमा अध्ययन गरिरहेको छ । लम्की चुहा नगरपालिकामा १ मेघावाट र जानकी गाउँपालिकाको दुर्गौली नजिकै केही मात्रामा विद्युत उत्पादन गर्न सकिने सम्भावना देखिएको बताईएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २०, २०७६  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update