Hamro Patra
आममाफी पाएका साँसद अरुण राज्यमन्त्री नियुक्त

काठमाण्डौं, साउन १८
कैलाली क्षेत्र नम्बर २ बाट नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित साँसद अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन । उनी राज्यमन्त्री नियुक्त भएसँगै विवादमा घेरिएका छन । 

राष्ट्रपतिबाट आममाफी पाएको भन्दै उनको आलोचना भैरहेको छ । उनले पूर्वराष्ट्रपति विद्या भण्डारीबाट २०७९ फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा आममाफी पाएका थिए । 

तिनै चौधरीलाई बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका छन् । उनलाई राष्ट्रपति पौडेलले शुक्रबार सरकारको सिफारिसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Khadga Memorial And Janajagriti

आममाफी पाएको समयमा उनी १७ दिनदेखि कैलाली कारागारमा बन्दी जीवन बिताइरहेका थिए । चौधरीलाई अदालतले कैलालीकै लम्की–चुहा क्षेत्रमा २०६६ मा भएको ट्रयाक्टर आगजनीको घटनामा दोषी प्रमाणित गरेको थियो ।

थरुहट आन्दोलन क्रममा आह्वान गरिएको बन्द अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा आन्दोलनकारी समूहले लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको थियो । कैलाली जिल्ला अदालतले घटना भएको तीन वर्षपछि २०७० वैशाख ९ गते सांसद चौधरीसहित तीन जनाविरुद्ध जनही ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउनुपर्ने फैसला गरेको थियो ।

६ महिना कैद भुक्तान नगरेको भन्दै सांसद चौधरीलाई प्रहरीले २०७९ माघ १९ मा बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको थियो । उनीविरुद्ध नेकपा (एमाले) का नेता महादेव बजगाईंले २०६७ भदौ २ गते ट्रयाक्टर जलाइएको भन्दै जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेका थिए ।

आगजनी भएको ट्रयाक्टरका मालिक बजगाईंसँग चौधरी २०७४ मा लम्कीचुहा नगरपालिकाको मेयर पदमा निर्वाचन लडेका थिए । उनी स्थानीय तह निर्वाचन लड्नु अगावै अदालतबाट दोषी ठहर भइसकेका थिए ।

तर, बजगाईंले तत्कालीन समयमा आफूविरुद्ध चुनावी प्रतिष्पर्धामा उत्रिँदा पनि अदालतको फैसला कार्यान्वयन गर्नुपर्ने भन्दै केही ‘एक्सन’ लिएका थिएनन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेपछि नेपालगञ्जबाट पक्राउ पर्दा चौधरीले ‘पहिले कुनै मतलब नगरेको र अहिले पदमा पुगेपछि मात्र खोजीनीति सुरु भएको देख्दा अचम्म लागेको’ प्रतिक्रिया दिएका थिए ।

मेयरमा चुनाव लड्नेदेखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर जित्ने बेलासम्म प्रहरी र कसैले कुनै वास्ता नगरेको चौधरीको भनाइ थियो ।

२०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी कैलाली–२ बाट २१ हजार ८७१ मतसहित विजयी भएका थिए । उनका निकटतम् प्रतिष्पर्धी एमाले उम्मेदवार झपटबहादुर रावलले १६ हजार १२८ मत ल्याएका थिए ।

तीन राज्यमन्त्री नियुक्त 
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।

अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update