Hamro Patra
सुदूरपश्चिमको मुख्यमन्त्रीमा देउवाको सम्भावना बलियो

धनगढी, साउन १७
सुदूरपश्चिमको आगामी मुख्यमन्त्रीमा प्रकाशबहादुर देउवाको सम्भावना बढेको छ । नेपाली काँग्रेसका केन्द्रिय नेताहरुले देउवालाई मुख्यमन्त्री बनाउन निर्देशन दिएको बुझिएको छ । 

एक प्रदेश सभा सदस्यका अनुसार नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको शुक्रवार बिहान ११ बजे बैठक बस्ने भएको छ । सोही बैठकले दलको नेतासमेत फेर्ने बताईएको छ । स्रोतका अनुसार पूर्व मुख्यमन्त्री कमलबहादुर शाहलाई दलको नेताबाट हटाएर देउवालाई पठाउने तयारी गरिएको छ । 

स्रोतका अनुसार पूर्व मुख्यमन्त्री शाहलाई दलको नेता र पूर्व भौतिक पूर्वाधार विकास मन्त्री देउवालाई मुख्यमन्त्रीमा पठाउने छलफल भएको थियो । तर, दलको नेतासमेत रहेका पूर्व मुख्यमन्त्री शाहले दलको नेता र मुख्यमन्त्री एकै व्यक्ति हुनुपर्ने अडान लिएपछि दलको नेतासमेत फेर्ने तयारी गरिएको हो ।

CMA Staff

मुख्यमन्त्रीका लागि काँग्रेस संसदीय दलको नेता रहेका शाह, पूर्व भौतिक पूर्वाधार विकास मन्त्री देउवा, बहादुर सिंह थापा र दिवान सिंह विष्ट दौडमा छन । 

नेपाली काँग्रेस र एमालेको नयाँ सत्ता समीकरणमा सुदूरपश्चिमको मुख्यमन्त्रीको पद काँग्रेसको भागमा परेपछि नेताहरूको दौडधुप सुरु भएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि काँग्रेसबाट पूर्व मुख्यमन्त्रीसमेत रहेका शाहसहितका चार नेता राष्ट्रिय राजनीतिमा दखल राख्ने नेताहरूसँगको भेटघाट र छलफलमा व्यस्त छन । 

पूर्वमुख्यमन्त्री शाहले थप समय काम गरेर देखाउन अवसर दिनुपर्ने भन्दै आएका छन । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले दलको नेता छोड्न भनेको स्रोतको भनाई छ । उनले देउवाले भनेपनि दलको नेता छोड्न तयार भएका छैनन् । उनी फेरी पनि मुख्यमन्त्री बन्ने प्रयासमा छन । 

मुख्यमन्त्री शाह भएपनि विगतमा सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्री रहेर देउवाले नै चलाएको महशुस भएको भन्दै कतिपय प्रदेश सभा सदस्यहरुले उनैलाई नै मुख्यमन्त्री बनाउन भन्दै आएका छन । उनीहरुले नै पार्टी सभापति देउवालाई यस्तो सुझाव दिएको स्रोतको दावी छ । 

तर कञ्चनपुरबाट विजयी प्रदेश सभा सदस्य थापालाई पार्टीका प्रभावशाली केन्द्रिय सदस्य एनपी सावदले मुख्यमन्त्री बनाउन दवाव दिईरहेका छन । उनले थापाको पक्षमा अडान लगेकै कारण अहिलेसम्म सभापति देउवाले निर्णय गर्न नसकेको स्रोतको भनाई छ । 

त्यस्तै कञ्चनपुरबाट विजयी अर्का प्रदेश सभा सदस्य बिष्ट कोइराला खेमाको प्रतिनिधित्व गर्छन । देउवा खेमाकै धेरै जनाको मुख्यमन्त्रीमा दावी रहेपछि उनी आफू मुख्यमन्त्री हुनुपर्ने भन्दै लविङमा छन । पार्टी सभापति देउवाले आफ्नो गृह प्रदेशमा फरक खेमाको व्यक्तिलाई मुख्यमन्त्री बनाउने सम्भावना कम भएकाले बिष्टको कमजोर दावी भएको एक प्रदेश सभा सदस्यले बताए । 

सुदूरपश्चिममा नेपाली काँग्रेसबाट १८ जना प्रदेश सभा सदस्यहरू रहेका छन । सुदूरपश्चिममा एमालेका ११ जना प्रदेश सभा सदस्यहरू छन । सुदूरपश्चिममा बहुमतको सरकार गठनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक हुन्छ । काँग्रेस र एमालेसँग मात्र २९ जना प्रदेश सभा सदस्यहरू छन । नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्यहरू छन । नागरिक उन्मुक्ति पार्टी काँग्रेस–एमालेसँगै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने कुनै निर्णय भएको छैन ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update