महेन्द्रनगर, साउन १७
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दोधारा चाँदनीका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै बाघको आक्रमण हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जारी गरेको सूचनामा बाघको आक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीयको सुरक्षार्थ घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उल्लेख छ ।
हिंसक बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुन्जको प्राविधिक टोली समेत घटनास्थलतर्फ परिचालन गरिएको सूचनामा भनिएको छ ।
कार्यालयले बाघको आक्रमणबाट मृत्यु भएकी दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ की २० वर्षीया हिरा शाहको निधन प्रति दुःख व्यक्त गरेको छ । आज बिहान घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो । उनको शव बाघले आक्रमण गरेको भन्दा केही टाढा भेटिएको छ ।