धनगढी, साउन १७
धनगढीमा १३ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिने भएको छ । विगतका वर्षहरू झैँ बैतडी समाज कैलालीले “रक्तदान जीवनदान“ भन्ने मूल मर्मलाई लिएर रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । रक्तदान महोत्सव यही साउन २६ गते हुने भएको हो ।
१३औँ बृहत् रक्तदान महोत्सवको आयोजना उत्तरबेहडी स्थित पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा गर्ने तयारी गरेको र साउन महिना पनि रहेकाले सहभागीहरू लाई खिर खुवाइने व्यवस्था मिलाइएको समाजका रक्तदान कार्यक्रम संयोजक वीर बहादुर महराले बताए ।
स्थापना काल देखि बर्सेनी २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले यस अघि १२ पटक रक्तदान कार्यक्रम सम्पन्न गर्दा १०७५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरिसकेको जानकारी दिँदै संयोजक महराले उक्त रक्तदान कार्यक्रममा पनि धनगढीमा रहनु हुने सम्पूर्ण स्वयम् सेवी रक्तदाताहरूलाई रक्तदान कार्यक्रममा उपस्थित भई सदा झैँ रक्तदान गरी कार्यक्रम सफल तुल्याउन अनुरोध गरेका छन् ।