टीकापुर, साउन १७
सुदूरपश्चिमका विभिन्न जिल्लामा बाढी पहिरोमा परेर यसवर्ष हालसम्म १० जनाको ज्यान गएको छ भने १४ जना घाईते भएका छन । जेठ २८ गतेदेखी सुरु भएको अविरल वर्षा हालसम्म जारी छ । मौषम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन अविरल वर्षाको सम्भावना रहेको छ ।
प्रहरीका अनुसार कैलाली र कञ्चनपुरमा धेरैले ज्यान गुमाएका छन । पहाडी जिल्लामा समेत विभिन्न ठाउँमा पहिरो गएको छ । कतिपय बस्ती नै पहिरोको जोखिममा रहेका छन । सुदूरपश्चिममा वर्षेनी बाढी पहिरोको जोखिम रहने गरेको छ ।
बाढी पहिरोको चपेटामा सुदूरपश्चिम मात्रै नभई देशका अन्य भूभाग समेत पर्ने गरेका छन । केन्द्रिय प्रहरी कार्यालयका अनुसार बाढी पहिरोमा ज्यान गुमाउने संख्या १४५ छ । प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरोलगायत विपदमा परी सुदूरपश्चिम बाहेक काठमाडौं उपत्यकामा दुईजना, कोशी प्रदेशमा २४ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २४ जना र कर्णाली प्रदेशमा आठ जनाको ज्यान गएको छ ।
उनका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा नौ जना र कर्णाली प्रदेशमा ५१ जना गरी जम्मा एक सय ७४ जना घाइते भएका छन ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना बेपत्ता भएका र बेपत्ताको खोजीकार्य जारी रहको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीका अनुसार यस अवधिमा छ सय ७२ वटा पशु चौपायको मृत्यु भएको छ भने विपद्का घटनाबाट चार हजार ६३ घरपरिवार विस्थापित भएका छन ।