महेन्द्रनगर, साउन १७
कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार (आज) बिहान दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो । शाह विवाहित महिला हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो ।
मृतक शाहलाई बाघले आक्रमण गरेर उखु बारीको बिचमा लगेको बताईएको छ । उनको शव बाघले आक्रमण गरेको भन्दा केही टाढा भेटिएको छ । स्थानीय र प्रहरीले उनको शव उखु बारीबाट बाहिर निकालेका छन ।
घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन । बस्ती नजिकै आएर बाघले आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ । उनीहरु फेरी अर्को कुनै दुर्घटना हुने डर त्रासमा छन ।