काठमाण्डौं, साउन १५
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार असफल नहुने बताएका छन । संघीय मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै ओलीले मुलुकको गम्भीर परिस्थितिबीच दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताए ।
उनले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीले नेतृत्व लिनुपरेको बताए ।
‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ’ उनले भने–‘त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन ।’
बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरूलगायत विशिष्ट पदाधिकारी सहभागी थिए ।
ओलीले सरकारको स्थायित्वमा शंका नगर्न भन्दै आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेर स्थिरताको सन्देश दिने प्रष्ट्याए ।
‘त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिन्छ ।’
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा बमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिए ।