Hamro Patra
लुम्बिनीमा मन्त्री छनौटमा केन्द्रको हस्तक्षेप

लुम्बिनी, साउन १०
नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले मन्त्री छनौटमा केन्द्रले हस्तक्षेप गरेको जनाएको छ । 

प्रदेश कार्य समितिलाई पूर्ण वेवास्ता गर्दै केन्द्रबाटै लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने व्यक्तिको नाम तोकेको प्रति असन्तुष्टी जनाएको छ । 

Khadga Memorial And Janajagriti

प्रदेश सभापति अमरसिंह पुनले विज्ञप्ति जारी गर्दै संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधान कुल्चिँदै निरंकुश शैलीमा मन्त्री छनोट गरिएको भन्दै आपत्ति जनाएका हुन ।

पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको सो विज्ञप्तिमा नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली कांग्रेसका कार्यकर्ताहरूको भावना विपरीत निरंकुश शैलीमा केन्द्रबाटै मन्त्रीहरू छनोट गरिएको प्रति प्रदेश कार्य समितिको ध्यानाकर्षण भएको उल्लेख छ । 

केन्द्रको निरंकुश शैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने भन्दै अहिले गरिएको निर्णय पुनर्विचार गर्न पनि आग्रह गरिएको छ । पार्टी नेतृत्वले पुनर्विचार नगरे वैधानिक प्रक्रियाविरूद्ध गरिएको कार्यका विरूद्ध यथोचित निर्णयमा पुग्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

बुधबार लुम्बिनी प्रदेशका मन्त्रीहरूको नाम सिफारिसमा संस्थापन पक्षले एकलौटी निर्णय गरेको संस्थापन इतर समूहको आरोप छ । प्रदेश सरकारमा नेपाली कांग्रेसको भागमा परेका पाँच जना मन्त्रीमा तीन जना संस्थापन पक्षका पठाए पनि दुई जना आफ्नो पक्षका पठाउनुपर्ने संस्थापन इतर समूहको दाबी थियो । लुम्बिनी प्रदेशका सभापति पुन पनि संस्थापन इतर समूहका हुन ।
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update