Hamro Patra
छ वर्ष पुग्यो निर्मला पन्तको हत्या, सबैभन्दा महंगो अनुसन्धान, उपलब्धी शुन्य

महेन्द्रनगर, साउन १०
हालसम्म रहस्यमै रहेको निर्मला हत्याकाण्ड छ वर्ष पुगेको छ । छ वर्षअघि आजकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पश्चात हत्या भएको थियो । 

साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त नगरपालिका वडा नम्बर १८ का १५ वर्षीय सनी खुनाको ज्यान समेत गएको थियो । 

यही घटनाले बितेका छ वर्षमा राज्यले निकै आचोलित हुनु परेको छ । अहिलेसम्मको अनुसन्धानले छेउटुप्पो भेटाउन सकेको छैन । 

Tikapur Hospital

६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए । यसै घटनाको लागि ६ वटा समिति समेत बने । तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । 

गृह प्रशासनको जवाफ सधैं उस्तै छ । हालै सरकारबाट बाहिरिएका तत्कालिन गृहमन्त्री रवि लामिछानेले समेत अनुसन्धान अन्तिम अवस्थामा पुगेको बताए । हरेक गृहमन्त्री र प्रहरी प्रमुखले निर्मला पन्तको हत्यामा संलग्नको पहिचान गरी कारबाही गर्ने बताउन छाडेका छैनन् ।

अझ लामिछानेले त ११ पुसमा पहिलो निर्णय नै गृहमन्त्री हुँदा पन्त हत्यारा पत्ता लगाएर कारबाही गर्ने गरेका थिए । उनी दोस्रो पटक गृहमन्त्री भएर पनि बाहिरिइसके, तर अवस्था उही छ । संयोग भनौं, निर्मलाको बलात्कार र हत्यापछि भएको आन्दोलनमा समेत सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखक गृहमन्त्री छन् ।

पन्तको हत्या भएपछि भएको सडक आन्दोलनमा कञ्चनपुरका लेखक समेत सहभागी भएका थिए । २१ असोज २०७५ मा काठमाडौंकै एक कार्यक्रममा लेखकले हत्याराले संरक्षण पाइरहेको बताएका थिए । ‘घटनाको प्रकृतिमाथि केही विसंगतिहरू देखिएका छन्, त्यो सत्य पनि हो’ त्यसबेला उनले भनेका थिए, ‘तर प्रमाण मेटाउने काम पनि भएको हुँदा अपराधीले संरक्षण पाइरहेको छ ।’

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीका अनुसार निर्मलाको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा अहिलेसम्म १२४ जनाको डीएनए जाँच गरिएको छ ।

६ वर्षको अवधिमा अहिलेसम्म ६५५ जनासँग सोधपुछ गरिएको छ । प्रत्यक्ष व्यक्ति भेटेरै ६५५ जनासँग सोधपुछ गरिएको पन्तको अनुसन्धान विवरणमा प्रहरीले समावेश गराएको छ ।

यो घटनाको अनुसन्धानमा राज्यको ३२ लाख ९० हजार खर्च भइसकेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । एउटै अनुसन्धानका लागि करिब ३३ लाख रुपैयाँ खर्च धेरै नै भएको प्रहरी अधिकारीहरू बताउँछन् । 

अहिलेसम्म यो फाइल क्लोज गरेर बसेको अवस्था छैन । डेडिकेटेड प्रहरी तोकिएरै अनुसन्धानका लागि खटाइएका अनुसन्धान निकै महँगो पर्न गएको प्रहरी अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update