Hamro Patra
टीकापुर अस्पतालको सेवा सुचारु

टीकापुर, साउन ८
टीकापुर अस्पतालको सेवा सुचारु भएको छ । अस्पताल प्रशासनले एक विज्ञप्ती जारी गर्दै हिजोदेखी ठप्प रहेको आकस्मिक सेवा बाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ ।

अस्पताल हातामा प्रवेश गरेर गाली गलौज र डरधम्की दिएको भनिएका व्यक्तिहरुले कमिकमजोरी भएको स्विकारे पछि दुई पक्षबीच सहमति जुटेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । आगामी दिनमा अस्पतालको सेवामा असर पर्ने खालका कुनै गतिविधि नगर्ने गरी दुई पक्षबीच लिखित सहमति समेत भएको छ । 

CMA Staff

अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भनिएका टीकापुर नगरपालिका वडा नम्बर १ नयाँ टीकापुरका ४५ वर्षका पदमबहादुर बोहोराका आफन्त विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै अस्पताल पुगेका थिए ।

बोहोराको असार १ गते राति उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । उनी बिरामी परेपछि सोही राति करिव सवा १० बजे उपचारका लागि टीकापुर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । 

उनको आकस्मिक कक्षमा उपचार भएको थियो । उनी मधुमेह र उच्च रक्तचापको दीर्घ बिरामी रहेको अस्पतालको विज्ञप्तीमै भनिएको छ । उपचारकै क्रममा बोहोराको स्वास्थ्य अवस्था थप जटिल बन्दै गयो । उनलाई अस्पतालले थप उपचारका लागि अन्यत्र रेफर गरेको थियो ।

अस्पतालमा कार्यरत चिकित्सकले गलत औषधी प्रयोग गरेका कारण मृतक बोहोराको स्वास्थ्य अवस्था झन जटिल बनेर ज्यान गएको आफन्तको आरोप छ । उनीहरुका अनुसार मृतक बोहोराले आकस्मिक कक्षमा उपचार भैरहेको बेला आफ्नो स्वास्थ्य समस्याका बारे चिकित्सकलाई आफै जानकारी दिएका थिए । 

मृतकका आफन्त नवराज ठकुल्लाले अस्पतालको सेवा प्रभावित नहोस भन्नका लागि आफूहरु सहमति गर्न तयार भएको बताए । उनले आफ्ना कुरा राख्न गएको बेला उल्टै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरेको बताए । 

‘हामी सामान्य रुपमा कुरा राख्न मात्रै गएका थियौं’ उनले भने–‘अध्यक्षले अपशब्द प्रयोग गरेर माहौल उत्तेजित बनाए ।’
उनका अनुसार अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफूहरुसँगै रहेका मृतकका आफन्त उत्तेजित भएका हुन । 

बोहोराको निधन भएपछि केही रकम क्षतिपूर्ती दिने र उनका आफन्तलाई रोजगारी दिने मौखिक सहमति भएको बताईएको छ । तर अध्यक्ष सोडारीले भने यस्तो कुनै सहमति नभएको बताएका छन । 

यो कैलालीको पूर्वी भेगमा अवस्थित बिरामीको अत्याधिक चाप हुने अस्पताल हो । यहाँ कैलालीका मात्रै नभएर छिमेकी बर्दियाका बिरामीहरु समेत उपचारका लागि आउने गर्छन । 
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update