Hamro Patra
साँसद रावलद्वारा भर्तापुर समाजलाई कुर्सी प्रदान

टीकापुर, पुस १२
सुदूरपश्चिम प्रदेश सरकार संसदीय दलका नेता डा. रणबहादुर रावलले आफ्नो पारिश्रमिकबाट टीकापुर नगरपालिका–५ भर्तापुरमा कुर्सी वितरण गरेका छन ।
उनले त्यहाँ रहेको बाढी उत्थानशील भवनका लागि शनिवार एक समारोहबीच ३० थान कुर्सी हस्तान्तरण गरेका छन । कैलाली क्षेत्र नं. १ ख का प्रदेश सभासद रहेका रावलले भर्तापुर समाजका पदाधिकारीहरुलाई कुर्सी हस्तान्तरण गरेका छन ।
कुर्सी हस्तान्तरण कार्यक्रममा बोल्दै रावलले विकास निर्माणका सवालमा सबैको हातेमालो आवश्यक हुने बताए । उनले राजनीतिक आस्थाका आधारमा विभाजन भए विकास निर्माणका काम प्रभावित हुने बताए ।
‘राजनीतिक आस्था आफ्नो ठाउँमा छ । तर विकासका सवालमा सबैले हातेमालो गर्नुपर्छ’ उनले भने–‘सबैका एकताले मात्रै विकास सम्भव छ ।’
उनले आफू जहिले पनि विकासमा समर्पित रहेकाले सबैको साथ आवश्यक रहने बताए ।
सो अवसरमा स्थानीयले साँसद रावल समक्ष भर्तापुर समाजका तर्फबाट बलिराम चौधरीले विभिन्न आठवटा माग प्रस्तुत गरेका छन । उनीहरुले पथरैया नदीमा पुल, तटबन्ध, जनज्योति आधारभूत माविको घेरापर्खाल निर्माण, भर्तापुर–नारायणपुर चौराहासम्मको बाटो कालोपत्रे, स्कुलदेखी दैलेख टोलसम्म बाटो ग्राभेल, कुला फराकिलो, विभिन्न बाटोमा माटो पटानी लगायतका माग राखेका छन ।
स्थानीयले राखेका मागलाई सम्बोधन गर्दै रावलले पूरा गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा काँग्रेस जिल्ला सहसचिव चिरञ्जीवी खनाल, काँग्रेस सल्लाहकार सदस्य राजकुमार हमाल, काँग्रेस नगर सभापति धनराज उपाध्याय लगायतले बोलेका थिए ।
काँग्रेस नगर समिति वडा नं. ६ का वडाध्यक्ष नृप कडायतको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस सहसंयोजक देबेन्द्र जैशीले स्वागत गरेका थिए ।

 

प्रकाशित मिति: शनिबार, पुस १२, २०७६  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update