Hamro Patra
नेपालले आज भारतको सामना गर्दै

काठमाडौं, साउन ८
एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेलमा यूएईमाथि ६ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । 
समूह ‘ए’को भारत चार अंकसहित शीर्ष स्थानमा छ । भारत निरन्तर जित निकाल्दै अघिल्लो चरण प्रवेश गर्न चाहन्छ । नेपालमाथि अघिल्लो चरण प्रवेशका लागि भारतविरुद्ध जित निकाल्नै पर्ने दबाब छ ।

Khadga Memorial And Janajagriti

समूह चरणका दुई खेल सकिँदा नेपाल र पाकिस्तान एक हार र एक जितसहित समान दुई अंकसहित रनरेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । यो समूहको यूएईले भने खाता खोल्न सकेको छैन । आजै अर्को खेलमा यूएईले पाकिस्तानको सामना गर्नेछ ।

पाकिस्तान यूएईसँग पराजित भएर नेपाल भारतसँग विजयी भए नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । पाकिस्तान र यूएईको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ भने नेपाल र भारतको खेल मंगलबार साँझ ७ः१५ बजे श्रीलंकाको डम्बुला मैदानमा हुनेछ ।

प्रतियोगितामा आठ टोली सहभागी छन् । नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन् । समूह ‘बी’मा श्रीलंका चार अंकसहित शीर्ष स्थानमा छ भने थाइल्याण्ड र बंगलादेश समान दुई अंकसहित दोस्रो र तेस्स्रो स्थानमा छन् । मलेसिया भने अंकबिहीन छ ।

समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुई/दुई देश सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ ।

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update